२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका भगवतीलाई चढाइयो खीर



अ+ अ-

गण्डकी । आज साउन १५ अर्थात खीर खाने दिन । यो परम्परा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरसँग पनि जोडिएको छ । यस मन्दिरमा वर्षको एकपटक साउन महिनामा खिर चढाउने चलन छ । मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खीर चढाउने तिथि भने तलमाथि पर्ने गरेको बताउनुभयो । संयोगले यसपालि साउन १५ मै परेको उहाँको भनाइ छ ।

“बिहान ५ बजेर २१ मिनेटको साइतमा देवीलाई खीर चढाइएको हो” कोषध्यक्ष खड्काले भन्नुभयो, “मूल पुजारीले पूजआजा गर्ने र सहायक पुजारीले खीर पकाउने चलन छ, देवीलाई चढाउने खीर अलग्गै पाक्छ ।” आज बिहान ५ बजेदेखि ७ बजेसम्मको साइत खिर चढाउनका लागि उत्तम रहेको थियो । शक्तिस्वरुपा कालिका भगवतीलाई खीर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खीर खुवाउने गरिएको समितिका उपाध्यक्ष निशान खड्काले बताउनुभयो ।

पूर्वजहरुका पालादेखि नै मन्दिरमा खीर चढाउने चलन सुरु भएको उहाँको भनाइ छ । पहिलेपहिले कालिका भगवती देवीलाई खीर चढाएपछि मात्र बल्ल घरघरमा खीर पकाएर खाने चलन थियो । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खीर चढाउने गरिन्छ । यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खीर चढ्दैन ।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनालाई प्रसादीका रुपमा खीर खुवाउने गरिन्छ । पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट पाहुनालाईसमेत बोलाएर खीर खुवाउने गरिएको उपाध्यक्ष खड्काले बताउनुभयो । कालिका देवीलाई खीर खुवाउने चलन यस क्षेत्रकै मौलिक संस्कृतिका रुपमा जीवित रहेको उहाँको भनाइ छ ।

विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खीर चढाएर मात्र घरघरमा खीर फुक्ने गरेको यहाँका पाकापुराना बताउँछन् । सोही परम्परालाई पछिल्लो पुस्ताले पनि धान्दै आएको हो । पहिले घरघरबाट दूध ल्याएर मन्दिर परिसरमै खीर पकाउने चलन रहेपनि अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्ने गरिएको छ । दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ ।

झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठमा गनिन्छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजो स्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।

देवीको मूर्तिसहितको डोली अरु कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ । डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किम्बदन्ती छ । कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।रासस