२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ



Palestinians carry sacks of flour unloaded from a humanitarian aid convoy that reached Gaza City from the northern Gaza Strip, Saturday, July 26, 2025. (AP Photo/Jehad Alshrafi)
अ+ अ-

एजेन्सी । गाजा क्षेत्रमा जारी युद्ध, घरबारविहीनता र अत्यधिक गर्मीका बीच त्यहाँका सर्वसाधारणलाई दैनिक आवश्यक वस्तुहरूको खोजी नै असम्भवजस्तै बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले शुक्रबार दिएको जानकारी अनुसार गाजावासीहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन् । खानेकुरा, पानी, औषधी लगायतका अत्यावश्यक सामग्रीको चरम अभाव छ भने राहत सामग्री अत्यन्त न्यून मात्रामा गाजा प्रवेश गरिरहेको छ ।

ओसीएचएले गाजामा प्रवेश गर्ने राहत कार्यमा ठूलो ढिलाइ हुने गरेको जनाएको छ । गाजाको दक्षिणी भागमा रहेको समुद्री पानीलाई पिउनयोग्य बनाउने केन्द्रको विद्युत् आपूर्ति लाइन यस साताभित्रै तेस्रो पटक क्षतिग्रस्त भएको छ । यस कारण केन्द्रले आफ्नो कुल क्षमताको १४ प्रतिशतभन्दा कम मात्र सञ्चालन गर्न सकिरहेको छ ।

यद्यपि केही व्यावसायिक गाडीहरू गाजामा प्रवेश गरेपछि केही खाद्यान्न सामग्रीको मूल्यमा सामान्य गिरावट आएको देखिएको छ, तर अधिकांश खाद्यवस्तुहरू अझै महँगा छन् र सहजै उपलब्ध छैनन् ।

ओसीएचएले हवाईमार्फत खसालिने राहत सामग्रीहरूका कारण विभिन्न स्थानमा नागरिकको ज्यान जाने वा घाइते हुने घटनाहरू पनि भइरहेको जनाउँदै राहत आपूर्तिको सबैभन्दा सुरक्षित र प्रभावकारी माध्यम स्थल मार्ग नै भएको बताएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा गाजा सहरमा नियन्त्रण लिने इजरायली निर्णयप्रति महासचिव गम्भीर चिन्तित भएको जनाइएको छ । उक्त निर्णयले अवस्था झनै भयावह बनाउने, नागरिकको ज्यान जोखिममा पार्ने र लाखौँ गाजावासीमाथि थप विनाश ल्याउने चेतावनी महासचिवले दिएका छन् ।

ओसीएचएले राहत सामग्री सबै नाकाबाट तथा सबै सम्भव मार्ग हुँदै निर्बाधरूपमा प्रवेश गर्न दिनुपर्नेमा जोड दिँदै, मात्रै त्यसरी सहायता व्यापक रूपमा पहुँचाउन सकिने स्पष्ट पारेको छ ।