१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै जनै बाट्ने संस्कृतिः पुराना पुस्ता चिन्तित



अ+ अ-

पाल्पा। तानसेनका ७५ वर्षीय नरेशचन्द्र घिमिरे जनै बाट्ने संस्कृति हराउँदै गएकामा चिन्तित हुनुहुन्छ । जनैको महत्व युवापुस्ताले नबुझ्दा संस्कृति सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ ।

घिमिरेले भन्नुभयो, “हामीले जनै आफैँ बाटेर सबैको घरघरमा पु¥याउँन्थ्यौँ, अहिले त्यस्तो छैन । बरु बाहिरबाट ल्याएर लगाउन अहिलेको पुस्ता तयार छन्, पुरानो संस्कृति जोगाउन नयाँ पुस्ता तयार छैनन् ।”

उहाँलाई मात्रै होइन रैनादेवी छहराका विष्णु पोखरेललाई पनि परम्परागत जनै बाट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता छ । “यसको महत्व हराउँदै गएको भन्दा पनि निरन्तरता दिन नसक्नु चुनौती हो”, उहाँले भन्नुभयो । जनै बाट्ने संस्कृतिको पुस्ता हस्तान्तरण हुन आवश्यक रहेकामा पोखरेलले जोड दिनुभयो ।

जनैको महत्व पछिल्लो समय युवापुस्ताले नबुझ्दा परम्परा र संस्कृति सङ्कटमा पर्ने यहाँका ज्येष्ठ नागरिकको चिन्ता छ । पुरानो पुस्ताले जनै बनाएर परम्पराको संरक्षण गर्दै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति हराउँदै जान थालेको पोखरेलले बताउनुभयो । पुराना पुस्ता असशक्त (वृद्ध) हुँदै जानुु र नयाँपुस्ताले जनै बाट्ने कलातर्फ ध्यान नदिएकाले बाहिरबाट आउने जनैले सहजै बजार पाउने गरेको उहाँको भनाइ छ ।

हरेक वर्ष जनैपूर्णिमामा विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको छ । गाउँगाउँमा जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको स्थानीय बताउँछन् ।

चीनबाट मात्रै हरेक वर्ष करिब रु ५० लाखको जनै आयात हुने गरेको तानसेन कैलाशनगरका पूजाका सामग्री व्यापारी महेन्द्र अधिकारीले बताउनुभयो । विशेषगरी, जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार अत्यधिक माग रहेको जनाउँदै उहाँले जनै बनाउने प्रचलन कम हुँदै गएकाले बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

आज नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार पूर्णिमाको दिन जनैको कारोबार बढी हुने गरेको अधिकारीले बताउनुभयो । जनै पूर्णिमाका लागि बजारबाट उपकरणद्वारा बाटिएका जनै खरिद गरेर लगाउने प्रचलन बढेको उहाँको भनाइ छ ।

भारतबाट आउने जनै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त नहुने भए पनि माग बढिरहेको व्यापारी अधिकारीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जहाँ गए पनि बजारमा त्यही बाहिरबाट आएको जनै बिक्री गर्न राखेका हुन्छन्, त्यही बेच्नु र उपभोक्ताले किनेर लगाउनु बाध्यता हो ।” बजारमा आयातित र विभिन्न उपकरणको प्रयोगबाट बनाइएका जनै फरकफरक मूल्यमा पाइने उहाँले जानकारी दिनुभयो ।

जनै घरमा तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको तानसेनका पण्डित मधु आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले घरमा धागो ल्याएर बाटिन्थ्यो, अहिले कसैलाई फुर्सद छैन, किनेर बढी प्रयोग हुन्छ ।”

ब्राह्मण समाजको चासो 

जनै बाट्ने संस्कृति हराउँदै जान थालेपछि ब्राह्मण समाज नेपाल पाल्पाले यसको संरक्षणका लागि चासो देखाएको छ । समाजले गत वर्षदेखि तानसेन नगरभित्रका विद्यार्थी, महिला, पुरुषलाई जनै बाट्ने सीप सिकाउँदै आएको छ । नयाँपुस्तामा जनै बनाउने सीप विकास गराई संस्कृति संरक्षणका लागि बेलाबेलामा तालिम दिने गरिएको समाजले जनाएको छ ।

नयाँपुस्ताप्रति जनै बाट्ने परम्पराको विस्तार गरी विदेशी मुलुकबाट करोडौँको आयात केही मात्रामा भए पनि रोक्ने उद्देश्यले विधिपूर्वक जनै बनाउने सीप र तालिक उपलब्ध गराउँदै आइएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले जानकारी दिनुभयो । तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणका लागि स्थानीय सरकारले संरक्षणका लागि अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आज मन्दिरमा घुइँचो 

आज ऋषितर्पणी, रक्षा बन्धन तथा जनैपूर्णिमा पाल्पामा परम्परागत रूपमा मनाइएको छ । यहाँका मन्दिरमा बिहानैदेखि रक्षाबन्धन बाध्ने र जनै लगाउनेहरूको घुइँचो लागेको थियो । जनै परिवर्तन तथा रक्षाबन्धनका लागि परम्परा संस्कृतिलाई जगेर्ना गर्न यहाँका मठमन्दिरमा स्थानीयको घुइँचो लागेको हो ।

हिन्दू धर्मावलम्बीहरूले जनै पूर्णिमाका दिन शरीर, आत्मा र मनको शुद्धीकरण गरेर तागाधारी बाहुन, क्षेत्रीलगायत समुदायका मानिसले जनै फेर्ने र रक्षा कवजका रूपमा रक्षाबन्धन बाँध्ने चलन रहेको अमरनारायण मन्दिरका पुजारी फरिन्द्र लम्सालले बताउनुभयो ।

पाल्पाका विभिन्न मन्दिरमा पण्डित तथा भक्तजनहरूले आत्माको शुद्धीकरण तथा रक्षाका लागि मन्त्रद्वारा शुद्ध बनाइएको धागो बाँधी हातको नाडीमा रक्षाबन्धन गर्ने परम्परा रहेको उहाँले उल्लेख गर्नुभयो ।

तानसेनमा जनै परिवर्तन गर्ने तथा रक्षाबन्धनका लागि अमरनारायण मन्दिर, शिव मन्दिर, भगवती मन्दिरमा भक्तजनहरू पुगेका छन् । आजै बाह्मण÷पण्डितहरूले आ–आफ्नो जजमानको घरघरमा पुगी रक्षाबन्धन गर्ने र जजमाानले चामल, दक्षिणा, तथा फलफूल दिने परम्परा रहिआएको पुजारी लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको दिन ज्वाइँ ससुराली पुगी रक्षाबन्धन बाँधिदिने तथा भान्जाहरू मामाघर पुगी रक्षाबन्धन गर्ने परम्परा छ ।रासस