२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै



अ+ अ-

धनुषा। मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ ।

बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो । मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाइरहेका थिए । लक्ष्मीनिया गाउँपालिका–३ का गोविन्द यादवका अनुसार प्रत्येक वर्ष भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने परम्परा रहिआएको छ ।

“महिलाहरू बिहानै गाई–भैँसीको गोबर, केराउ र माटो मिसाएर गोधन कुट्छन् । यो कृषिप्रधान जीवनशैलीप्रतिको कृतज्ञताको प्रतीक हो”, उहाँले भन्नुभयो । अघिल्लो दिन राति मिथिलाका घरघरमा गाई–भैँसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाइन्छ । परम्पराअनुसार राति गाई–भैँसीले त्यो गोधन कुल्चेपछि बाँकी भागलाई बिहान केराउ मिसाएर कुट्ने चलन छ । यसरी कुटिएको मिश्रणलाई ‘गोधन कुट्ने’ भनिन्छ । यसलाई धन, समृद्धि र उर्वरतासँग जोड्ने गरिएको पण्डित कुश्वेवर उपाध्यायले बताउनुभयो ।

गोधन कुट्ने पर्वको अर्को विशेषता पारिवारिक स्नेह र रमाइलोपन पनि हो । महिलाले बिहानै गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना (बजरी) खुवाउँछन् भने भाइहरूले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने चलन रहेको स्थानीय सोनिया यादवले बताउनुभयो ।

यसैगरी दिदीबहिनीले रमाइलो पारामा ‘बजरी खइहा भैया बजर होइहा, दहेज न दिहा दरिद्र होइहा’ लोककथन पनि दोहर्याउँछन् । यसको अर्थ ‘केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन’ भन्ने प्रतीकात्मक सन्देश दिनु हो । गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो । यस पर्वले परिवारमा माया, स्नेह र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ ।

साँझपख गाउँका विभिन्न स्थानमा गीत, ठट्ठा र नाचगानसहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ । यसले मिथिला संस्कृतिको मौलिक सौन्दर्य झल्काउँछ । रासस