२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानु राणाको पलेँटीमा धर्मराज थापाको झझल्को



अ+ अ-

काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थान स्थित नेपालयको आरशालामा प्रसिद्ध कण्ठ शिल्पी ज्ञानु राणाको कार्यक्रम सम्पन्न भएको छ । झन्डै दुई घण्टासम्म चलेको सो कार्यक्रममा १६ वटा गीति रचनाहरू प्रस्तुत गरिएका थिए ।

 कार्यक्रमलाई दुई खण्डमा बाँडेर प्रस्तुत गरिएको थियो । आध्यात्मिक जीवनशैली रुचाउने ज्ञानु राणाले आफ्नो कार्यक्रमको थालनी सरस्वती बन्दनाबाट गरेकी थिइन् ।

आजभन्दा ७७ वर्ष पहिले कास्कीको बाटुले चौरमा जन्मेकी राणाले नेपाल र नेपाल बाहिरका विभिन्न भाषामा गीत गाएकी छन् ।

खासगरी लोकगीतमा आफ्नो गहिरो पहिचान बनाएकी ज्ञानुले धर्मराज थापाका धेरै रचनाहरूमा आफ्नो स्वर गुञ्जाएकी छन् ।

 कार्यक्रमको दोस्रो र तेस्रो कोसेलीका रूपमा रूपमा फूलबारी तिम्रै हो माया‘ र चौतारीमा मै बसे होला कि‘ प्रस्तुत भएका थिए । कार्यक्रममा आफ्नो सांगीतिक यात्राको संस्मरण सुनाउँदै गीत सुनाइरहेकी राणाले चौतारीमा मै बसे होला कि‘ गीत भारतीय स्वर शिल्पी हेमलतासँग रेकर्ड गरेको सम्झना गरेकी थिइन् ।

 कार्यक्रमको चौथो प्रस्तुतिका रूपमा अद्वितीय गायक नारायणगोपालसँग गाएको लोकप्रिय गीत मान्छेको माया यहाँ‘ प्रस्तुत गरिएको थियो । यस क्रममा उनले गीतकार राममान तृषितसङ्गीतकार शिवशंकरलाई सम्झेकी थिइन् । ज्ञानु राणाले गाएका गीतहरूको सहगायनमा उनलाई पलेँटीका युवा गायक रूपक चौधरीले साथ दिएका थिए ।

 रेडियोमा रेकर्ड गर्दाका आफ्ना सहगायकहरूलाई सम्झना गर्दै राणाले भिज्यो तिम्रो रातो पछ्यौरी‘, ‘कसैले बुझेन मेरो मनको बहलाई‘, ‘पीर पर्यो कत्तिको‘ बोलका गीतहरू प्रस्तुत गर्दै कार्यक्रम अगाडि बढाएकी थिइन् ।

 यसपछि पालो आएको थियो गोपाल यञ्जनले ज्ञानु राणासँग गाएको गीत च्याङ्बा होइ च्याङ्बाको । यस गीतको प्रस्तुतिका क्रममा गोपाल योन्जनले आफूलाई तामाङनी जस्तै भएर गीत गाउन अनुरोध गरेको संस्मरण ज्ञानुले गरेकी थिइन् । उनको सिको गर्दै कार्यक्रममा सहगायन गरिरहेका रूपक चौधरीले तामाङ जस्तै लबजमा स्वर गुञ्जाइरहेका थिए ।

 त्यसपछि ज्ञानु राणाले आफ्ना पिताजी धर्मराज थापाको सम्झना गर्दै आफ्नो पहिलो रेकर्डेड गीत सुनाएकी थिइन् । जाने कहाँ हो‘ बोलको सो गीत गाइसकेपछि उनी भन्दै थिइन्- हेर्नु त मैले १४ वर्षको उमेरमा बुवासँगै गएर रेडियोमा रेकर्ड गरेको थिएँ यो गीत । ओहो ! युग पो बितिसकेछझण्डै ६३-६४ वर्ष !’ भावुक देखिएकी उनी अगाडि भन्दै थिइन्– ‘अझै गाइरहेको छुसकुन्जेल गाइरहन्छु ।

 उनको यो अभिव्यक्तिले दर्शक दीर्घामा तरङ्ग फैलिएको थियो । कार्यक्रममा अर्को गीत सुनाउने क्रममा उनी भन्दै थिइन्- रेडियोबाट मैले गाएको सुनेपछि एकदिन नारायण गोपाल दाइले भन्नुभयो- ‘ज्ञानु ! मैले लोकगीत कम गाएको छु । तिमी कति राम्रो गाउँछौ । म पनि तिमीसँग एउटा लोक गीत गाउनुपर्‍यो । तिम्रो बुबालाई भनेर एउटा गीत ल्याऊ त !‘  सुरुमा उनलाई नारायणगोपाल जिस्किएका हुन् कि जस्तो लाग्यो । तर  होइन रहेछ । ज्ञानुले यो कुरा लोक सर्जक धर्मराज थापालाई सुनाएपछि थापाले आफूले पहिले गइसकेको हरियो भन्नु नि कान्छी त्यो रानी बन‘ गीतलाई परिमार्जन गरेर सिरीमा सिरिनी कान्छा बतासै चल्यो‘ बोलमा युगल गीत तयार पारिदिए र ज्ञानु राणाले नारायणगोपालसँग पहिलो गीत रेकर्ड गरिन् । 

 पहिलो चरण ज्ञानु राणाको सांगीतिक यात्राको चर्चामा केन्द्रित कार्यक्रम, दोस्रो चरणमा भने धर्मराज थापामाथि केन्द्रित भएको थियो।

 कार्यक्रम सञ्चालक आभास भन्दै हुन्छन्- पोखराको बाटुलेचौरले धर्मराज थापा दियो । धर्मराज थापाले नेपाली संगीत जगतलाई थुप्रै कोसेली दिनुभयो । लोक संगीत र साहित्य त दिनुभयो नै । उहाँले काठमाडौँ बाहिरका गन्धर्वलाई केन्द्रमा भित्र्याउनुभयो र नेपाली संगीतजगत गन्धर्वमय भयो । त्यसको उदाहरण झलकमान गन्धर्व हुन् । त्यस्तै ज्ञानु राणा जस्ती गुनी शिल्पीलाई दीक्षित गर्नुभयो र त नेपाली सङ्गीत जागत आजसम्म धन्य हुन पाइरहेको छ ।

 यसपछि कार्यक्रम सञ्चालकले ज्ञानु राणाका सुपुत्र तथा धर्मराज थापाका नाती विकासजंग राणालाई पोलेँटीको मञ्चमा निम्त्याए । विकासले आफ्नो पहिलो कोसेलीको रुपमा उही सिरीमा सिरीको‘ उद्गम गीत हरियो भन्नु नि‘ गुन्जाए । विकासको गायनमा धर्मराज थापाको झझल्को सुनिन्थ्यो । आफ्नो छोराको गायनमा बुबाको झझल्को आएकोमा ज्ञानु राणा भावुक देखिन्थिन् । उनी भन्दै थिइन् – ‘छोराले बुवाको गीत गाउँदा म झलझली उहाँलाई नै सम्झँदैछु ।‘ ज्ञानुले आफ्ना बुवासँगको विगत र अनेक सम्झना सुनाउँदै गइन् । छोराले धर्मराज थापाका लोकप्रिय गीतहरू प्रस्तुत गर्दै गए । उनले क्रमश नेपालीले माया मार्‍यो बरिलई‘, ‘आज मादल बजेको किन‘, ‘साइली रिमै चौरी गाई‘ सुनाइरहँदा दर्शक दीर्घामा अद्भुतको आनन्द प्रसारण भएझैँ देखिन्थ्यो ।

 धर्मराज थापाका गीतको प्रस्तुति गर्दै गरेका विकासले हरियो डाँडा माथि हलो जोत्ने साथीबाट आफ्नो एकल गायन समापन गरेका थिए । कार्यक्रमको अन्तिम कोसेली पोखरेलीहरूको सृजना करोड मुटुहरूको ढुकढुकी नेपालबाट गरिएको थियो । पोखराकै गीतकार नवराज कार्कीले रचेको यस गीतलाई सरोज गोपालले धुन भरेका थिए । जस गीतलाई पोखरासँगै सम्बन्ध रहेका ज्ञानु राणाबाबा राणाअरुण थापा र सरोज गोपालले संयुक्त स्वर दिएका थिए ।

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड)सुन्दरकुमार महर्जन र पारशमणि सुवेदी (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी)सुदीप खत्री (बेस गिटार) र प्रविन पुलामी मगर (रिदम गिटार) को सहभागिता रहेको थियो ।

 पलेँटीलाई हलमै उपस्थित भएर हेर्न अनुकूल नहुने देश विदेशका सङ्गीतप्रेमीका लागि यसपालीदेखि नै ‘लाइव‘ हेर्न मिल्ने पे पर भ्यूको व्यबस्था गरेको जानकारी पनि गराइएको थियो । त्यसका निम्ति www.paleti.com.np मा प्रवेश गरेर Purchase Live Access बटन क्लिक गरेर प्रक्रिया अगाडि बढाउन सकिने जनाइएको छ । 

 अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबारशनिबार प्रस्तुत हुने पलेँटीमा आउँदो महिना गायक फत्तेमानलाई सम्झना गरिने भएको छ । आगामी महिनाको अन्तिम शुक्रबार (२८ नोभेम्बर) गायक फत्तेमानको जन्मदिन परेकोले सो अवसरको पलेँटीलाई फत्तेमानमय बनाउने कुरा आयोजकले जानकारी गराएका छन् । त्यस अवसरमा सङ्गीतकार तथा पलेँटी संयोजक आभासले गायक फत्तेमानसँग सम्बन्धित निबन्ध सुनाउनेछन् । पलेँटीले एकसाथ निबन्ध र गीत प्रस्तुत गरिने कार्यक्रमलाई गीति-निबन्धको नाम दिँदै आएको छ ।