१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन



अ+ अ-

भोजपुर । रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट नियन्त्रणका लागि अभियान सुरु गरेको छ । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाको आर्थिक आधार बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

गाउँपालिकाबाट सङ्कलन हुनुपर्ने कर, शुल्क तथा अन्य राजस्वमा देखिएको चुहावट रोक्दै जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल गाउँपालिकामा उपलब्ध प्राकृतिक, पर्यटकीय तथा आर्थिक स्रोतको पहिचान गर्दै त्यसलाई आम्दानीसँग जोड्ने कामलाई प्राथमिकता दिइएको छ ।

“जनतालाई दिने सेवासुविधालाई सहज बनाउँदै गाउँपालिकाको आन्तरिक स्रोत बलियो बनाउने अभियानमा जुटेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “आन्तरिक स्रोत मजबुत भएमा मात्र स्थानीय सरकार आत्मनिर्भर र सक्षम बन्न सक्छ । त्यसका लागि यहाँका स्रोतसाधनको व्यवस्थित उपयोग आवश्यक छ ।”

गाउँपालिकामा वनजन्य स्रोत, सवारी तथा ढुवानी साधन, ढुङ्गा, गिट्टी, बालुवा, स्थानीय बजार तथा व्यवसायबाट सङ्कलन हुने राजस्वलाई व्यवस्थित गर्ने लक्ष्यले नियन्त्रणका लागि कडाइ गरिएको उहाँले स्पष्ट पार्नुभयो । राजस्व चुहावट हुने सम्भावित क्षेत्रको अनुगमन बढाइने र नियमविपरीतका गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ ।

आन्तरिक स्रोत वृद्धि गर्न गाउँपालिकाले पूर्वाधार करअन्तर्गत विभिन्न सवारीसाधन तथा वस्तु ढुवानीमा करका दर निर्धारण गरेको छ । अध्यक्ष राईका अनुसार बाहिरबाट आउने दशचक्के ट्रकलाई एकपटकको ढुवानीमा रु एक हजार ५००, छचक्के सवारीलाई रु एक हजार, मसला तथा फलफूल ढुवानीमा एकपटकको रु ४००, ठूला बसलाई वार्षिक रु तीन हजार, ट्याक्सीलाई वार्षिक रु एक हजार ५०० र बाहिरबाट आउने ठूला ट्रकलाई एकपटकको रु तीन हजार कर तोकिएको छ । राजस्व समिति र स्थानीय प्रहरी प्रशासनको संयुक्त बैठकबाट निर्णय गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

यसैक्रममा गाउँपालिकाले राजस्व चुहावट नियन्त्रणसँगै शान्ति सुरक्षा सुदृढ गर्ने विषयमा स्थानीय प्रहरी प्रशासनसँग समन्वय र छलफल थालेको छ । प्रहरी इन्चार्जसँग भएको छलफलमा अनुगमनलाई प्रभावकारी बनाउने, अवैध कारोबार नियन्त्रण गर्ने तथा राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा सहमति भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी दिनमा कर प्रणालीलाई प्रविधिमैत्री बनाउने, करदातालाई सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा आन्तरिक आम्दानी वृद्धि गरी विकास निर्माणका कामलाई तीव्रता दिने योजना अघि सारेको छ ।