२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित



फाइल फोटो
अ+ अ-

कञ्चनपुर। कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ।

अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै यहाँका स्थानीय तहहरूले सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले बालबालिकालाई पठनपाठनमा कठिनाइ भएपछि विद्यालयमा बिदा दिएका छन् ।

श्रीकृष्ण माध्यमिक विद्यालय झलारीका शिक्षक ईश्वरी भट्टले भन्नुभयो, “अत्यधिक चिसोका कारण विद्यालयमा आगो बालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको छ, चिसोले गर्दा ससाना बालबालिकामा रुघाखोकी र कठ्याङ्ग्रिने समस्या बढी देखिएको छ, चिसो बढेपछि नगरपालिकाले तीन दिन बिदा दिएपछि केही राहत हुने भएको छ ।”

हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जनप्रतिनिधिले पनि सुरक्षा सतर्कताका लागि सक्रियता देखाएका छन् । कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष बाबुराम चौधरीले बिहान र साँझको समयमा चिसो अत्यधिक हुने भएकाले विशेष सावधानी अपनाउन नगरवासीलाई अनुरोध गर्नुभएको छ ।

यसैगरी, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले चिसोबाट बालबालिका, सुत्केरी, दीर्घरोगी र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्न आह्वान गर्नुभएको छ । अध्यक्ष रानाले गाउँपालिकाभित्रका सामुदायिक वनहरूलाई सार्वजनिक चोक तथा बस्तीमा दाउरा उपलब्ध गराइदिन आग्रहसमेत गर्नुभएको छ ।

“चिसो र शीतलहरले दैनिक कार्यमा कठिनाइ हुनुका साथै स्वास्थ्य जोखिम बढाएको छ”, अध्यक्ष रानाले भन्नुभयो, “यस्तो कठिन अवस्थामा आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित पारौँ ।”

शीतलहरका कारण कञ्चनपुरको जनजीवन ठप्पजस्तै बनेको छ । बजारमा चहलपहल घटेको छ भने सडकमा गुड्ने सवारीसाधन बाक्लो हुस्सुका कारण दिउँसै हेडलाइट बालेर हिँड्न बाध्य छन् ।

चिकित्सकहरूले चिसोबाट बच्न मनतातो पानी पिउन, न्यानो लुगा लगाउन र सम्भव भएसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । स्थानीय तहहरूले चिसोबाट हुनसक्ने मानवीय क्षति कम गर्न आआफ्नोतर्फबाट सचेतनाका कार्य अगाडि बढाइरहेका छन् । रासस