२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिबाट आश्चर्यचकित भए: प्रधानमन्त्री कार्की



अ+ अ-

प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।
नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको हो।

‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान्,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ।’

निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउमा उभिने बेला आएको उहाँले बताउनुभयो। ‘विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ,’ उहाँले अगाडि थप्नुभयो, ‘सबैको विचार एउटै हुँदैन। मेरो विचार मात्र ठिक भन्नु पनि लोकतन्त्रसम्मत हुँदैन। आफ्ना विचार जनतामा लिएर र जनताबाट अनुमोदित भएर आउने अवसर निर्वाचन हो। त्यसैले निर्वाचनलाई सफल पारौँ। देशलाई अफ्ठ्यारो अवस्थाबाट जोगाउन तपाईँहरू सबै एक ठाउँमा आउनुपर्छ।’

उहाँले चुनाव सफल बनाउन सरकार आफ्नो तर्फबाट सम्पूर्ण रूपले तयारी गरिरहेको जानकारी दिँदै सुरक्षाका सवालमा पनि शंका नगर्न आग्रह गर्नुभयो।

‘तपाईँ–हामी सबै एक ठाउँमा हुने हो भने कसैले केही गर्न सक्दैन। हतियार, कैदी धेरै फिर्ता भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि स्रोतसाधन उपलब्ध गराइसकिएको छ। निर्वाचनका लागि छुट्टै प्रहरी भर्तीको प्रक्रिया अघि बढेको छ। ठूलै भूकम्प वा आँधी–तुफान आए मात्र चुनाव रोकिएला। नत्र फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन। तपाईँहरू पनि तयारी गर्नुहोस्।’

कुनै विषयमा मत–मतान्तर र छलफल हुनु सामान्य भए पनि देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिबाट भने आफू आश्चर्यचकित भएको उहाँको भनाइ थियो।

‘अहिले हेर्नुहोस्, दक्षिण एसियाका साना मुलुकहरू प्रताडित भइरहेका छन्। हामी कस्तो मुलुक बन्ने, कस्तो बनाउने भनेर पनि एकपटक मनन गरौँ। कुनै विषयमा मत–मतान्तर र छलफल हुनु एउटा कुरा हो। तर, देशै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति भने अनौठो छ।’

उहाँले अगाडि थप्नुभयो, ‘यो तत्व र त्यो तत्वले खेल्यो भन्छन्। तर, त्यस्ता तत्वलाई खेल्ने ठाउँ कसले बनाइदियो? कसले निम्त्यायो? हामी बाहिरियालाई दोष दिन्छौँ, आफैँतिर फर्केर भने हेर्दैनौँ।’

अहिले मुलुकमा पुरानो र नयाँ विचारबीच द्वन्द्व भइरहे पनि यो हाम्रो एक घरभित्रको मामिला रहेकाले पारिवारिक वातारणमा मिलाउनुपर्ने उहाँले बताउनुभयो।

‘हामी सबै एक घरभित्रका परिवार हौँ। हाम्रा बालबालिका असन्तुष्ट देखिए भने उनीहरूले के खोजेका हुन् भनेर हेरौँ। पक्कै पनि यो पुरानो र नयाँ सोचबीचको द्वन्द्व हो। पुरानो सोच, पुरानो तरिका र पुरानै व्याख्याले अब चल्नेवाला छैन। हामी सुध्रिन र सच्चिन जरुरी छ।’

यो सरकार चुनाव गराउन आएकाले त्यसमा आफू दृढ रहेको पनि उहाँले दोहो¥याउनुभयो।

उहाँले भन्नुभयो, ‘हामी चुनाव गराउनै आएका हौँ। यो सरकारको गठन गर्दा नै फागुन २१ को मिति तोकेर चुनाव गराउने कार्यादेश दिइएको हो। यसबाट दायाँबायाँ गर्ने छुट हामीलाई छैन।’

नागरिक बचाउ दल, नेपालका तर्फबाट अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष ५ सूत्रीय ज्ञापनपत्र पनि बुझाउनुभएको थियो।