काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्न लाग्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूलाई सहभागी गराएर संयुक्त बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ४ बजे हुने बताइएको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफलका लागि निम्ता दिनुभएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्नुभएको थियो। उक्त छलफललाई पछिल्ला राजनीतिक संवादहरूको निरन्तरताका रूपमा हेरिएको छ।












