काठमाडौं, पुस १२ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताउनुभएको छ ।
उहाँले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यही सिंहदरबारमा पुग्न खोज्नु आफैँमा सकारात्मक सङ्केत भएको उल्लेख गर्नुभएको छ । तर यस्ता भेटघाटलाई लिएर केही वृत्त र मिडियामा अतिरञ्जित तरङ्ग सिर्जना गर्न खोजिएकोप्रति उहाँले आपत्ति जनाउनुभएको छ । ‘सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो, तर यस्ता भेटघाटहरूलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदै छ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो, जस्तो कि दक्षिण भारतीय चलचित्रहरूमा देखिन्छ- कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोत्तर हुन्छन् ! यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदै छ’, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।
उहाँले यस्ता मिलनबाट कुनै चमत्कारी नेतृत्व जन्मिएर देशले तत्काल मुक्ति पाउने भन्ने भ्रान्ति फैलिनु खतरनाक भएको बताउनुभयो। तिलस्मी व्यक्तित्वको खोजीले मुलुकलाई कहीँ पनि नपुर्याउने उल्लेख गर्दै उहाँले देश निर्माण व्यक्तिको योगदानबिनाको विषय होइन तर अन्ततः विचार, संस्था, प्रणाली र सामूहिकताबाट मात्र सम्भव हुने स्पष्ट पार्नुभयो। ‘यस्तो तिलस्मी तत्त्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन, देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो’, उहाँले भन्नुभयो ।
नेता ज्ञवालीले देश निर्माणका मूल प्रश्नहरू अनुत्तरित रहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको छ। कस्तो शासन प्रणाली अपनाउने, कस्तो आर्थिक नीति लिने, बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कसरी गर्ने, तीव्र रूपमा बदलिँदो भूराजनीतिक परिवेशमा राष्ट्रिय हित कसरी जोगाउने, जलवायु परिवर्तनजस्ता चुनौतीसँग कसरी जुध्ने, संविधानका कुन पक्ष संरक्षण गर्ने र कुन परिमार्जन गर्ने भन्ने जस्ता विषयमा उनीहरूसँग ठोस वैकल्पिक दृष्टिकोण नदेखिएको उहाँको भनाइ छ। ‘कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने ? तीव्र रूपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने ? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने ? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने ? यावत् प्रश्नमा कुनै विकल्प छैन’, उहाँले लेख्नु भएको छ ।
उहाँले अहिलेको राजनीतिक बहसमा विकल्पभन्दा बढी नकारात्मकता, निषेध र घृणाले स्थान पाएको टिप्पणी गर्नुभयो। केही मिडियामा देखिएको ‘युफोरिया’ ले दुई दशकअघिका घटनाहरू सम्झाइदिएको उल्लेख गर्दै उहाँले त्यसबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरी हिंसाको महिमागान गरिएको स्मरण गराउनुभयो। ‘छ त केबल नकारात्मकता, निषेध र घृणा, कतिपय मिडियामा देखा परेको ‘युफोरिया’ हेर्दा दुई दशक अगाडिका घटनाहरू याद आए, जतिबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे, ओहो, हिंसाको त्यो महिमागान !’, ज्ञवालीले लेख्नु भएको छ ।
‘नयाँ दिन’ र ‘नयाँ नेपाल’ का सपनाहरूलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गरिएको त्यो मिडिया हाइप आज कपुरको बास्ना झैँ विलीन भइसकेको उहाँको विश्लेषण छ। अन्ततः घोडा पानीदार हो कि होइन भन्ने निर्णय लामो दौडपछि मात्रै हुने भन्दै उहाँले समाजलाई ‘इमोशनल’ होइन ‘र्याशनल’ बनाउनेतर्फ सबैले सघाउनुपर्ने धारणा राख्नुभयो। ‘नयाँ दिनका ती अभ्यर्थना ! र नयाँ नेपालका ती सपना ! आज त्यो ‘मिडिया हाइप’ निर्मित बिम्ब कपुरको बास्ना झैँ विलोप भइसकेको छ, घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो, साथीहरूले समाजलाई ‘इमोशनल’ होइन, ‘र्याशनल’ बनाउन सघाए हुने हो’, ज्ञवालीको धारणा छ ।
नेता ज्ञवालीले स्वप्नभङ्गको क्षण अत्यन्त पीडादायी हुने भएकाले अवास्तविक अपेक्षा र भ्रम सिर्जना गर्नु देश र समाज दुवैका लागि हानिकारक हुने चेतावनी पनि दिनुभयो। ‘स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ !’, उहाँले स्मरण गराउनु भएको छ ।












