पोखरा ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे आयेाजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकेा समन्वयमा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उहाँले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताउनुभयो ।
“पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ”, मन्त्री खरेलले भन्नुभयो, “सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढीसकेको छ ।”
उहाँले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताउनुभयो । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताउनुभयो । “नयाँ पुस्ताले उठाएको माग बमोजिम निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई अगाडि बढाउनेछ, जेनजी आन्दोलनको मर्म र भावना अनुसार सुशासन कायम हुनेछ, भ्रष्टाचार अन्त्य हुनेछ ।”
मन्त्री खरेलले निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । “राजनीतिक दललगायत सबै सरोकार भएका पक्षहरूलाई निर्वाचनको वातावरण निर्माणमा योगदान गर्न आग्रह गर्न चाहान्छु”, उहाँले भन्नुभयो । फरक प्रसङ्गमा मन्त्री खरेलले नेपाली मिडियाको डिजिटल रूपान्तरण आवश्यक रहेको बताउनुभयो ।
मन्त्री खरेलले मिडियाकेा विषयवस्तु बलियेा हुनुपर्वे , प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारकेा सहज पहुच हुनुपर्ने आवश्यकतामा जेाड दिनुभयेा ।
तस्बिरः राधिका कँडेल/रासस












