२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी गोली घटना: पीडित र प्रशासनबीच ५ बुँदे सहमति



अ+ अ-

सुनसरी। सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ ।

बिहीबार सुनसरी प्रशासनमा बसेको सर्वपक्षीय छलफलमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच घटनाको छानबिन गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो ।

बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । स्थानीयले सशस्त्रको ज्यादती भन्दै विहानैबाट लौकही क्षेत्रमा प्रर्दशन चर्काएका थिए । मृतकको शव पूर्व पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गरी प्रर्दशन गरेका थिए ।

सहमतिमा घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कार्वाही गरिने, मृतकको श्रीमती र छोरालाई जागिर लगाइने, काजकृया र क्षतिपूर्ति बापत सहयोग उपलब्ध गराइने, उक्त स्थानमा रहेको सशस्त्र प्रहरीको टोली फिर्ता गराई नयाँ टोली पठाउने लगायत ५ बुँदे सहमति  भएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिए ।

यस्तै, मृतक पक्षका आफन्त र स्थानीयले आन्दोलन र प्रदर्शन फिर्ता लिने समेत सहमति भएको छ ।