१६ असार २०८३, मंगलवार
,
Latest
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी



अ+ अ-

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभयो ।

उहाँले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रियस्तरमा चिनारी दिन प्रदर्शनीले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । “प्रदर्शनी आफैँमा सिकाइ हो, नेपाली र अन्तरराष्ट्रिय जगतका कलाकारहरुबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुनेछ”, उहाँले भन्नुभयो, “पोखरालाई कलाका माध्यमबाट विश्वमाझ जोड्न यस्ता कार्यक्रमले मद्दत पुग्छ ।”

आयरल्याण्डका कलाकार लोरा मर्फीले नेपाली कलाकारहरुसँगै प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले पोखरा र यस आसपासका क्षेत्रका कलाकारलाई अन्तरराष्ट्रियस्तरका कलाकारहरुसँग जोड्न आफूले पहल गर्दै आएको बताउनुभयो । प्रदर्शनीमा सहभागी हुने विदेशी कलाकारको संयोजन मर्फीले गर्नुभएको हो ।

पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष डीबी गुरूङले बताउनुभयो । प्रदर्शनीमा नेपाली ३३ जना र अमेरिका, अष्टे«लिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्याण्डका गरी १५ जना विदेशी कलाकारले सहभागिता जनाएको उहाँको भनाइ छ ।

सात देशका कलाकारका ७० वटा कलाकृतिलाई प्रदर्शनीमा राखिएको हो । “यो प्रर्दशनी नेपाली कलाकार र उनीहरूका कलाकृतिलाई विश्वस्तरका कलाकारमाझ पु¥याउने माध्यम बन्नेछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “कलाकृतिलाई बिक्रीमा राखिने भएकाले नेपाली कलाकारलाई आर्थिक रूपमा लाभ पुग्नेछ ।” प्रदर्शनी तीन दिनसम्म चल्ने छ । बिहान १० देखि ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने जनाइएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले नेपाली कला र कलाकारलाई अन्तरराष्ट्रिय रुपमा चिनाउने र कलामार्फत संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

प्रदर्शनीसँगै कलाकृतिलाई बिक्रीमासमेत राखिएको उहाँको भनाइ छ । गतवर्ष भएको प्रदर्शनीमा विदेशी कलाकारले महँगो मूल्यमा नेपाली कलाकृति खरिद गरेको उहाँले सुनाउनुभयो । प्रतिष्ठानले कला प्रवर्द्धनका कार्यक्रममा जोड दिँदै आएको प्राज्ञ सदस्य कँडेलले बताउनुभयो । राजधानी र ठूला सहरमा मात्र हुँदै आएका ललितकला सम्बन्धी कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको उहाँको भनाइ छ ।

व्यावसायिक रुपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो । दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुने आयोजक सिर्जनशील कलाकार समूह, पोखराले जनाएको छ । उक्त प्रदर्शनीमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारले सहभागिता जनाउने भएका छन् । रासस