२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईसेवा मार्फत अवैध कारोबार गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं। कम्पनीका कागजात दुरुपयोग गरी ईसेवा मार्फत अवैध आर्थिक कारोबार गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले प्रारम्भिक अनुसन्धानपछि कीर्तिपुर नगरपालिका–७ स्थायी बासिन्दा १९ वर्षीय क्रमिक उप्रेतीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उप्रेतीले Wide-Space International (P) Ltd. को नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर लगायतका कागजातको दुरुपयोग गर्दै ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानुनी रूपमा आर्थिक कारोबार गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानमा ईसेवा मर्चेन्ट आईडी २२२२०२००१८२१७५२७ मार्फत रू. ६५ लाख ३३ हजार ६०३ र ईसेवा वालेटबाट रू. ५६ लाख ३१ हजार ६०३ कारोबार भएको खुल्न आएको प्रहरीले जनाएको छ।

उक्त कार्यमा संलग्न रहेको पुष्टि भएपछि उप्रेतीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

पक्राउ परेका उप्रेतीको साथबाट प्रहरीले १ थान ल्यापटप, २ थान विभिन्न मोडेलका मोबाइल फोन, एनसेल, नमस्ते र स्मार्टका सिमकार्ड, पेन ड्राइभ र मेमोरी कार्ड बरामद गरेको छ।

प्रहरीले अनलाइन भुक्तानी प्रणालीको दुरुपयोग गरी गरिने अवैध कारोबारप्रति सतर्क रहन आम नागरिकलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न जोसुकैमाथि पनि कडा कारबाही गरिने जनाएको छ।