काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताउनुभएको छ ।
शुक्रवार भृकुटीमण्डपमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरुको पहलमै हुनुपर्ने भएपनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताउनु भयो । उहाँले विधानलाई सबैले मान्नुपर्नेमा नैतिक दायित्व र कर्तव्य बिर्सिएर अघि बढ्न नहुने बताउनु भयो । महाधिवेशले राम्रो निकास दिने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘वास्तवमा शेरबहादुर दाईहरुले नै यो अधिवेशन गरिदिनुपर्दथ्यो । किनभने ४० प्रतिशतले भनिसकेको थियो । हाम्रो विधानलाई मान्नुपर्ने दायित्व, नैतिक दायित्व र कर्तव्य पनि उहाँहरुको हो । तर त्यसलाई लत्याउनु भयो । यसलाई सामान्य रुपमा लिनुपर्छ । विशेष महाधिवेशनले एउटा राम्रो निकास निकाल्नेछ । चाँडै पार्टीभित्रका समस्याहरु समाधान हुनेछन् । यो अधिवेशनलाई सबैको अधिवेशन बनाउने प्रयत्नमा हामी छौँ ।’
नेता शर्माले महाधिवेशनसँगै पार्टीभित्रका समस्या पनि चाँडै समाधान हुने बताउनु भयो ।











