काठमाडौं । मुटुरोगीका लागि विशेषज्ञ सेवा दिइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पनि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ ।
अस्पतालको यस निर्णयबाट गरिब तथा बिपन्न परिवारका मुटुरोगी निकै सकसमा पर्ने भएका छन् । यसअघि नै टिचिङ अस्पतालले पनि बीमा बोर्डले शोधभर्ना नदिएको भन्दै स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको थियो ।
स्वास्थ्य बीमा बोर्डले उपचार बापतको रकम नदिएपछि अस्पताल संचालनमै समस्या आएको अस्पताल प्रशासनको भनाई छ ।
अस्पतालका अनुसार माघ १ गते (आज) देखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहने छ ।
अस्पतालका अनुसार स्वास्थ्य बीमाबाट करिब १४ करोड भुक्तानी लिन बाँकी छ । बीमा बोर्डले विपन्न कार्यक्रम पनि आफैं हेर्न थालेपछि झनै समस्या बढेको छ ।
विपन्न नागरिक औषधि उपचार कोष (कडा रोग लागेका बिरामीलाई एक लाखसम्म सहयोग) जोडिएपछि थप २५ करोड लिन बाँकी रहेको अस्पतालको भनाई छ ।
‘पहिला विपन्नको दाबी सजिलै पास हुन्थ्यो, अहिले बीमाले हेर्दा झमेला बढ्यो र बक्यौता बढ्यो’, अस्पतालका निर्देशक डा रबि मल्लले बताउनु भएको छ ।
बीमा बोर्डले भुक्तानी नदिएपछि सार्वजनिक र निजी ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्न थालेका छन् ।
उता, स्वास्थ्य बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ, तर बोर्डसँग रकम छैन ।












