रबात । सेनेगलले आयोजक मोरोक्कोलाई पराजित गर्दै दोस्रो पटक अफ्रिका कप अफ नेशन्स (आफकन)को उपाधि जितेको छ। तर गोलरहित अवस्थामा स्टपेज टाइममा दिइएको विवादित पेनाल्टीपछि सेनेगलले केही समय खेल्न अस्वीकार गरेपछि फाइनल खेल ठूलो विवादमा फस्यो।
अतिरिक्त समयमा भिल्लारियलका मिडफिल्डर पापे गुएयेले अतिरिक्त समयको चौथो मिनेटमा निर्णायक गोल गर्दै सेनेगललाई पाँच वर्षभित्र दोस्रो पटक उपाधि दिलाए।
तर खेलको अन्त्यतिर भएको घटनाले प्रतियोगिताको गरिमा नै ओझेलमा पार्यो। खेलको ९८औँ मिनेटमा सेनेगलका डिफेन्डर एल हाजी मलिक डिउफले ब्राहिम डियाजलाई फाउल गरेपछि रेफ्री जाँ जाक्स नडालाले भिएआर समीक्षा गर्दै मोरोक्कोलाई पेनाल्टी दिएका थिए। त्यसपछि सेनेगलका प्रशिक्षक पापे थियाव आक्रोशित हुँदै आफ्ना खेलाडीलाई मैदान छाड्न निर्देशन दिएका थिए।
खेल केही समय रोकिएपछि ११४औँ मिनेटमा पेनाल्टी लिइयो। तर रियल मड्रिडका फरवार्ड ब्राहिम डियाजले हानेको पेनाल्टी सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले बचाए।
मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुइले सेनेगलको व्यवहारलाई “लज्जास्पद” भन्दै “अफ्रिकी फुटबलको सम्मान नगर्ने काम” भएको टिप्पणी गरे। उता सेनेगल प्रशिक्षक थियावको पोस्ट–म्याच पत्रकार सम्मेलन भने प्रेस कक्षमा भएको हंगामापछि रद्द गरियो।
थियावले आफूले गल्ती गरेको स्वीकार गर्दै भने, “हामी सहमत थिएनौँ। आवेगमा प्रतिक्रिया भयो। पछि सोच्दा मैदान छाड्न नहुने रहेछ। हामी फुटबलसँग माफी चाहन्छौँ।”
थियाव रेफ्रीसँग त्यसकारण पनि असन्तुष्ट थिए कि केही समयअघि इस्माइला सारले गरेको गोल अच्राफ हाकिमीमाथि भएको फाउल भन्दै अस्वीकार गरिएको थियो।
खेलाडीहरू मैदान छाड्न खोज्दा सेनेगल समर्थकहरूबाट मैदानमा वस्तु फ्याँक्ने र प्रवेश गर्ने प्रयाससमेत भयो। पूर्व लिभरपुल स्टार साडियो मानेको आग्रहपछि मात्र सेनेगल टोली पुनः मैदान फर्किएको थियो।
अन्ततः गुएयेले अतिरिक्त समयको ९४औँ मिनेटमा व्यक्तिगत कौशल प्रदर्शन गर्दै विजयी गोल गरे। मोरोक्को सन् १९७६ पछि पहिलो आफकन उपाधि जित्ने अवसर गुमाउन बाध्य भयो।
गोलकिपर मेन्डीले खेलपछि भने, “हामी सँगै फर्कियौँ र सँगै जित्यौँ। आज गर्व गर्न लायक रात हो।” गोलकर्ता गुएयेले भने, “हामीमाथि अन्याय भएको महसुस भएको थियो। तर मानेले हामीलाई फर्कन भने, मेन्डीले पेनाल्टी रोके र हामी केन्द्रित रह्यौँ।”
यसैबीच, फाइनलअघि नै सेनेगल फुटबल महासंघले टोलीको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको थियो। टोली बस रबात पुग्दा समर्थकहरूले घेराबन्दी गरेको, होटल र टिकट व्यवस्थापन कमजोर रहेको तथा अभ्यास मैदान नदिइएको गुनासो महासंघले गरेको थियो।
पूर्व नाइजेरियन खेलाडी एफान एकोकुले मैदान छाड्ने निर्णयलाई “अफ्रिकी फुटबलका लागि राम्रो दृश्य नभएको” टिप्पणी गरे। यस्तै, नाइजेरियाका पूर्व कप्तान जोन ओबी मिकेलले निराशा बुझ्न सकिने भए पनि मैदान छाड्नु गलत भएको बताए।
चार वर्षपछि विश्वकप सह–आयोजनाको तयारीमा रहेको मोरोक्कोले उत्कृष्ट पूर्वाधार र व्यवस्थापनको प्रशंसा पाए पनि, यस संस्करणको आफकन विवादित अन्त्यका कारण सम्झनामा रहने देखिन्छ।












