काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेपछि नेपाली बजारमा पनि लगातार मूल्यवृद्धि भइरहेको छ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै आज ५ हजार ९२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।












