लण्डन । सायद थियो वाल्कटले बोलेका शब्द मुखबाट निस्किनासाथ आफूले के भनेँ भनेर महसुस गरे।
पूर्व आर्सनल विङ्गर वाल्कट म्यानचेस्टर युनाइटेडका लिजेन्ड वेन रुनीसँग कुराकानीका क्रममा सन् २००८ को युनाइटेड टोली आजको आर्सनलसँग “प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन” भन्ने प्रश्न उठाएका थिए।
त्यसपछि रुनीले कुनै हिचकिचाहट नगरी जवाफ दिए।
“हो, हामी त उनीहरूलाई ब्याटर गर्थ्यौँ,” म्यानचेस्टर युनाइटेडका सर्वाधिक गोलकर्ता रुनीले स्पष्ट रूपमा भने।
स्वाभाविक रूपमा, त्यो टोलीका सदस्य रहेका रुनीबाट यस्तो प्रतिक्रिया अपेक्षित नै थियो।
तर वाल्कटको पक्षमा भन्नुपर्दा, उनले सन् २००८ को युनाइटेडलाई “मैले खेलेकोमध्ये सबैभन्दा बलियो टोलीमध्ये एक” भनेका पनि थिए।
रुनी र वाल्कट आर्सनलले च्याम्पियन्स लिगमा इन्टर मिलानलाई ३–१ ले हराएको खेलमा विश्लेषकको भूमिकामा थिए।

यो जितसँगै आर्सनलले लिग चरणमा १०० प्रतिशत जितको कीर्तिमान कायम राखेको छ। प्रिमियर लिगको शीर्ष स्थानमा उ सात अंकले अगाडि छ भने काराबाओ कपको सेमिफाइनलमा चेल्सीविरुद्ध ३–२ को अग्रता बनाएको छ।
एफए कपको चौथो चरणमा लिग वान टोली विगन एथलेटिकसँग घरेलु खेल बाँकी रहेकोले आर्सनलको ऐतिहासिक ‘क्वाड्रपल’ (चार उपाधि) जित्ने सपना अझै जीवित छ।
तर के वाल्कटले यस्तो तुलना गर्नु नै गलत थियो ? सन् २००८ को युनाइटेड र आजको आर्सनललाई साँच्चै तुलना गर्न सकिन्छ ?
गोलरक्षकः भान डर सार कि राया ?
गोलरक्षकको कुरा गर्दा, के तपाईं एडविन भान डर सार रोज्नुहुन्छ कि डेविड राया ?
पिटर स्माइकलपछि युनाइटेडले सात वर्षपछि मात्र उपयुक्त उत्तराधिकारी पाएको थियो—एडविन भान डर सार।
३७ वर्षको उमेरमा २००८ को च्याम्पियन्स लिग फाइनल खेलेका भान डर सार अनुभवी, स्थिर र दबदबा जमाउने गोलरक्षक थिए। उनले त्यसपछि पनि तीन सिजन युनाइटेडका लागि खेले।
अर्कोतर्फ, ३० वर्षीय राया आधुनिक फुटबलका लागि उपयुक्त मानिन्छन्—फुर्तिला, खुट्टाबाट बल खेल्न सिपालु र वितरण क्षमतामा दक्ष।
उपाधिको आधारमा तुलना गर्दा भने भान डर सार धेरै अगाडि छन्। उनले २००८ सम्म अजाक्स र युनाइटेडसँग दुई च्याम्पियन्स लिग, छ लिग उपाधि र चार घरेलु कप जितिसकेका थिए।
रायाले भने क्लब स्तरमा अहिलेसम्म कुनै ठूलो उपाधि जितेका छैनन्। उनले स्पेनसँग युरो २०२४ र नेसन्स लिग जिते पनि ब्याकअप गोलरक्षकका रूपमा रहे।
उपलब्धिको हिसाबले भान डर सार निर्विवाद रूपमा अगाडि छन्। तर आधुनिक खेलको माग हेर्दा राया पनि कम छैनन्।
डिफेन्सः पहिलो रोजाइ भर्सेस गहिराइ
रियो फर्डिनान्ड र नेमान्जा भिडिच—यी दुई केन्द्रीय डिफेन्डरको जोडीलाई चुनौती दिन गाह्रो छ। यसमा कुनै बहस छैन।
विलियम सालिबा र गाब्रिएल उत्कृष्ट भए पनि युनाइटेडको त्यो जोडीसँग तुलना गर्न कठिन छ।
तर कुरा केवल पहिलो रोजाइको डिफेन्सको मात्र होइन।
आर्सनलसँग अहिले गहिराइ पनि बलियो छ। रिकार्डो कालाफियोरी र जुरियन टिम्बरपछि माइल्स लुइस–स्केली, बेन ह्वाइट, क्रिस्टियन मोस्केरा र पिएरो हिनकापिएजस्ता विकल्प छन्।
युनाइटेडतर्फ प्याट्रिस एव्राले बायाँपट्टि उत्कृष्ट खेले पनि वेस ब्राउन आजको शीर्ष टोलीमा पर्थे कि भन्ने प्रश्न उठ्छ। ग्यारी नेभिल चोटका कारण त्यो सिजन खेल्न सकेनन्।
पहिलो रोजाइको डिफेन्स युनाइटेडको भए पनि, गहिराइमा आर्सनल अलि अगाडि देखिन्छ।
आक्रमणः रोनाल्डो–रुनी–टेवेज, कुनै प्रतिस्पर्धा छैन
आक्रमण पंक्तिमा त युनाइटेड स्पष्ट रूपमा अगाडि छ।
क्रिस्टियानो रोनाल्डो—२००८ का बलोन डी’ओर विजेता, इतिहासकै महान खेलाडीमध्ये एक।
वेन रुनी—युनाइटेड र इङ्ल्यान्डका सर्वाधिक गोलकर्ता।
कार्लोस टेवेज—२००७–०८ सिजनमा प्रिमियर लिगमा १४ गोल।
त्यो सिजनको यस चरणसम्म रोनाल्डोले २२, टेवेजले १२ र रुनीले ९ गोल गरिसकेका थिए।
आर्सनलतर्फ विक्टर ग्योकरस ५५ मिलियनको मूल्यअनुसार अझै प्रभाव जमाउन सकेका छैनन्।
बुकायो साका विश्वस्तरीय खेलाडी हुन्, तर मार्टिनेली, ट्रोसार्ड वा माडुएकेको हकमा त्यो स्तरको दाबी गर्न गाह्रो छ।
सिर्जनशीलता र तथ्यांक
दुवै टोलीको गोल औसत लगभग समान छ।
युनाइटेडः २८ खेलमा ५७ गोल (प्रति खेल २.०४)
आर्सनलः २९ खेलमा ६० गोल (प्रति खेल २.०७)
तर युनाइटेडले धेरै अवसर सिर्जना गरेको देखिन्छ—५ सय ५ शट (प्रति खेल १८.०४), जबकि आर्सनलले ४ सय ३८ शट (प्रति खेल १५.१०)।
सेट–पिस गोलमा आर्सनल अलिकति अगाडि देखिए पनि फरक धेरै ठूलो छैन।
सबैभन्दा महत्वपूर्ण कुराः उपाधि
अन्ततः, फुटबलमा मूल्यांकनको सबैभन्दा ठूलो आधार उपाधि नै हो।
२००८ को म्यानचेस्टर युनाइटेड युरोप र इङ्ल्यान्डकै शिखरमा थियो। उनीहरूले प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका थिए र त्यसपछि अर्को सिजन पनि लिग उपाधि थपे।
अर्कोतर्फ, यो आर्सनल टोलीले अहिलेसम्म कुनै उपाधि जितेको छैन। क्लबको अन्तिम ट्रफी २०१९–२० को एफए कप हो।
उपाधि नजितेसम्म, यी दुई टोलीबीच तुलना गर्नु कठिन छ।
यस अर्थमा हेर्दा, रुनीले भनेजस्तै— “युनाइटेडले आर्सनललाई ब्याटर गर्थ्यो।”












