२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकु अस्पतालमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिनमै सकियो ५० किट



अ+ अ-

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिनमै ५० किट सकिएको छ । सामान्य रुघाखोकी लागेका बिरामीको समेत कोरोना परीक्षण हुन थालेपछि एकै दिन बढी किट खर्च भएको हो । भाइरसबारे अनुसन्धान गर्ने नेपाली संस्था सेन्टर फर डाइनामिक नेपाल ‘सिएमडिएन’सँग २ सय टेस्ट किट मागेर प्रयोगशालाले परीक्षण थालेको थियो । तर, अनावश्यक परीक्षणमा पनि किट प्रयोग भएको छ । सोमबार मात्रै सयभन्दा बढी बिरामी कोरोना परीक्षण गर्न टेकु अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका थिए ।

निजी अस्पतालबाट चिकित्सकहरूले रुघाखोकी लागेकै आधारमा बिरामीलाई कोरोना परीक्षणका लागि भन्दै टेकु पठाउन थालेका छन् । यो अवस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जथाभावी परीक्षण रोक्न नियम नै बनाउन थालेको छ । महाशाखा निर्देशक डा. विवेककुमार लालले कस्तो अवस्थामा मात्रै कोरोना परीक्षण गर्ने भन्ने विषयमा प्रोटोकल तयार भइरहेको बताए । चीनबाट आएका सबै बिरामीको कोरोना भाइरस परीक्षण गर्ने वा बुहान सहरबाट आएकाहरूको मात्रै गर्ने भन्नेमा चिकित्सकहरू निर्णयमा पुगेका छैनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झाले अनावश्यक परीक्षणमा महत्वपूर्ण किटको प्रयोग रोकिने बताइन् । ‘नमुना परीक्षण गर्ने बिरामी चीनबाटै फर्किएको आधिकारिकता देखिने गरी ‘ट्राभल हिस्ट्री’ भए मात्रै हामी नमुना लिन्छौँ,’ झाले भनिन्, ‘मौसमी रुघाखोकी, इन्फ्लुएन्जा र कोरोनाको लक्षण एउटै हुने भएकाले लक्षण देखिने सबैको परीक्षण गर्न आवश्यक छैन ।’ उनले अहिले जथाभावी परीक्षण गरे आवश्यक व्यक्तिको परीक्षणमा किट अभाव हुन सक्ने बताइन् । किट अभाव हुन नदिन तत्काल खरिद प्रक्रिया अघि बढाइने पनि उनको भनाइ छ ।

कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन बिरामीमध्ये दुईजनाको सोमबार नमुना परीक्षण भएको छ । उनीहरूमा कोरोना भाइरस नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ । हङकङबाट आएका २८ वर्षीय पुरुष र अमेरिकाबाट चीन हुँदै नेपाल आएका अर्का पुरुषलाई अस्पतालले सोमबार नै डिस्चार्ज दिएको छ । चीनबाट आएकी एक महिलाको भने मंगलबार नमुना परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

भाइरस परीक्षण गर्ने नेपाली संस्था ‘सिएमडिएन’ले स्वास्थ्यकर्मीको सुरक्षाका लागि ५० जोर ‘फिजिकल प्रोटेक्टिभ इक्विपमेन्ट’ सहयोग गरेको छ । प्रयोगशालाले तोकेका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई नमुना संकलन व्यवस्थापन तालिमसमेत दिएको छ । कोरोना भाइरस परीक्षणमा नेपाल सरकारलाई सहयोग गर्न ‘सिएमडिएन’ले आफ्ना कर्मचारीसमेत खटाएको छ । नयाँ पत्रिका दैनिकबाट