नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो् पार्टीलाई विजयी गराउन चाहेको दाबी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गर्नुभयो । उहाँले् युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिष्ट पार्टीलाई । सबैभन्दा ठूलो नम्बर एक पार्टीको रुपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ । लहर चलिरहेको छ । त्यसको अगुवाई ओखलढुंगाले गर्नुपर्छ । यतिकै भनिएको होइन मेरो प्यारो ओखलढुंगा । यो जिल्लाले पूर्वलाई पनि तरंगित गर्नेछ, पश्चिमलाई पनि तरंंगित गर्नेछ । हिमाल, पहाड तराई सबैलाई तरंगित गर्नेछ । यसले अहिलेको चुनावमा कीर्तिमान त कायम गर्छ । जनताको भावनाअनुसार हामी काम अघि बढाउनेछौँ ।’
सहसंयोजक नेपालले जेन–जी पुस्ताको भावनाअनुसार आफूहरु अघि बढिरहेको पनि दाबी गर्नुभयो ।












