पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलियाली टिम दोस्रो टी२० क्रिकेटमा पनि पाकिस्तानसँग नराम्रोसँग पराजित भएको छ ।
लाहोरमा भएको दिवारात्रि खेलमा पाकिस्तानसँग अस्ट्रेलिया ९० रनको फराकिलो अन्तरले पराजित भयो । १९९ रनको विजयी लक्ष पछ्याएको अस्ट्रेलिया १०८ रनमै समेटिएको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनाएको थियो । पाकिस्तानका लागि युवा कप्तान सल्मान आघाले ७६, उस्मान खानले ५३, सदाब खानले २८ तथा साइम आयुबले २३ रन बनाए ।
टी२० विश्वकपको तयारी स्वरुप भएको यस खेलमा अस्ट्रेलियाले नयाँ खेलाडीलाई अवसर दिएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सबैभन्दा बढी ३५ रन बनाएका थिए । अन्य खेलाडीहरुमा कप्तान मिचेल मार्सले १८, म्याथ्यू शर्टले २७ तथा जेभियर बार्टलेटले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
पाकिस्तानका लागि अब्रार अहमद र शादाब खानले तीन तीन विकेट लिएका थिए भने उस्मान तारिकले २, मोहम्मद नवाज र साइम आयूबले एक एक विकेट लिए ।
यसअघि लाहोरमा भएको पहिलो टी२० मा पनि पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गरेको थियो । यी दुई टोलीबीच तेस्रो तथा अन्तिम टी२० आजै साँझ हुँदैछ ।












