२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण



अ+ अ-

म्याग्दी । जिल्लामा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूले समन्वय गरेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेका हुन् । माघमा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने सङ्घीय सरकारको कार्यक्रमअनुसार जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक तथा नसर्ने रोग सम्पर्क व्यक्ति मीनराज न्यौपानेले बेनी नगरपालिकामा माघ १५ गतेदेखि सुरु भएको अभियान रघुगङ्गा र धवलागिरि गाउँपालिकाले माघ २१ देखि सञ्चालनको तयारी गरेका जानकारी दिनुभयो ।

“यो अभियानमार्फत ३० वर्षभन्दा बढी उमेर पुगेका हाल कुनै पनि रोगको औषधि सेवन नगरेकाको मधुमेह, रक्तचाप र मिर्गौलाको परीक्षण हुन्छ”, उहाँले भन्नुभयो, “नसर्ने रोगका बिरामीको पहिचान गरी समयमै उपचारको पहुँचमा पु¥याउन अभियान सञ्चालन भएको हो ।”

मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाले पनि यही महिनाभित्र स्वास्थ्यकर्मी परिचालन गरेर नसर्ने रोगका बिरामी पहिचान अभियान सञ्चालन गर्ने तयारीमा रहेका न्यौपानेले बताउनुभयो । प्रदेश अस्पताल बेनीमा भने मधुमेह, रक्तचाप, मिर्गौला, मुटुको परीक्षणको सुविधा निःशुल्क उपलब्ध गराइएको छ ।

टोलटोलमा जाने स्वास्थ्यकर्मीहरूले ‘किट’को प्रयोग गरेर परीक्षण गर्ने र समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउनेछन् । विश्वभर र नेपालमा ७० प्रतिशत मृत्युको कारण बनेको नसर्ने रोगको समयमै पहिचान र उपचार गर्न सकेमा क्षति रोकिने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

अस्वस्थकर खानपान, ध्रुमपान, मद्यपान, शारीरिक व्यायामको कमीका कारण पछिल्लो समय उच्च रक्तचाप, मिर्गौला, मुटुलगायत नसर्ने रोगको सिर्जना हुने र मानिसको ज्यान जाने गरेको उहाँले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले नसर्ने रोगको पहिचानका लागि माघ २१ देखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको अभियानको तयारीका लागि आइतबार स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको बताउनुभयो ।

आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नसर्ने रोग स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतीका रूपमा देखिएको बताउनुभयो । रासस