दमक: झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बलेन शाह झापा आइपुगेका छन् ।
निकै चासोका साथ हेरिएको झापा ५ मा आफ्नो पकड मजदूत बनाउन शाह दोस्रो पटक झापा आइपुगेका हुन् । उनको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदैछ ।
यद्यपी, बालेनका कार्यक्रम बारे पार्टीले ्आधिकारिक रुपमा जानकारी दिएको छैन ।
गत माघ ६ गते मनोनयन दर्तापछि उनी इलाम, पाँचथर, ताप्लेजुघ, धनकुटा, तेह्रथुम, संखुवासभा समेत पुगेका थिए । उनलाई स्थानीय पार्टीका कार्यकर्ताले राम्रै स्वागत गरेका थिए । उनी माघ १० गते बेलुका काठमाडौं फर्किएका थिए ।
रास्वपाले प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेयता उनको देश दौडाहा तिब्र भएको छ । शाहले माघ १२ गते नेपालगंज हुँदै बर्दिया, कंचनपुर, डडेल्धुरा, अछाम, सुर्खेत समेतका दर्जन बढी जिल्लामा पुगेर मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरेका थिए । स्थानीय जनसमुदाय र पार्टीका कार्यकर्ताले पनि उनलाई स्वागत गरेका थिए ।
सुदूर पश्चिमको यात्रापछि काठमाडौं फर्किएका शाह सोमबार साँझ यति एयरलायन्सको विमानमार्फत झापा आएका हुन् ।
यतिबेला, बालेन पत्नी सबिना गौतम पनि झापा क्षेत्र नं ५ मा चुनावी प्रचारमा खटिएकी छिन् । यद्यपी उनको सुरक्षार्थ खटिएका प्रहरी पनि चुनावी प्रचारमा रहेको भन्दै उजूरी समेत परेको छ ।
बालेन शाह र केपी ओली बिच जेन जी आन्दोलन र त्यसपछि भएका ध्वंस एवं नयाँ सरकार गठनका सन्दर्भलाई लिएर तिब्र कटाक्ष जारी छ । सार्वजनिक बहस गर्न आफू तयार रहेको भनाई एमाले अध्यक्ष ओलीले राखे पनि बालेन शाहले त्यो आह्वानलाई अस्वीकार गर्दै अध्यक्ष ओलीमाथि आतंककारीको संज्ञा दिँदै आफू सहभागी नहुने बताएका थिए ।
बालेन शाहको त्यस टिप्पणीलाई लिएर सामाजिक संजालमा अद्यापी बहस भइरहेको छ ।












