काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सुझाव दिएका छन् ।
बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले साँस्कृतिक सम्पदाहरु अभौतिक नहुने उल्लेख गरेका छन् । सांसदहरूले विधेयकमा गुठी व्यवस्थापन, विगतमा चलिआएका अव्यवहारिक मौलिक परम्परालाई हटाउने लगगायतका कुरा ठोस रुपमा नआएकोमा पनि असन्तुष्टी जनाएका छन् ।
बैठकमा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालिगण्डकी नदी र त्यससँग जोडिएको सभ्यतालाई अभौतिक सम्पदाको परिभाषाभित्र राख्न नमिल्ने तर्क गर्नुभयो । उहाँले कालिगण्डकी नदी, देवघाटदेखि मुक्तिनाथसम्मका तीर्थस्थल र सालीग्राम संरक्षणयोग्य सम्पदा रहेको बताउनु भयो । उहाँले ती सम्पदाहरु अभौतिक नभई चलायमान र भौतिक अस्तित्वसँग जोडिएको सभ्यता भएको उल्लेख गर्नुभयो । उहाँले कालिगण्डकी सभ्यता, तीर्थस्थल र सालीग्राम संरक्षण यही विधेयकको दायराभित्र स्पष्ट रूपमा समेटिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘हाम्रो कालीगण्डकी, देवघाटदेखि मुक्तिनाथसम्मका तीर्थस्थलहरु र त्यहाँ पाइने सालीग्राम यी सबै हाम्रा संरक्षण गर्नुपर्ने सम्पदा तथा संस्कृति हुन् । सलल बग्ने कालिगण्डकी अभौतिक हुन सक्दैन, उ त गतिशील छ, बगिरहेकै छ । हरेक सम्पदा तथा परम्परालाई समुदायले चलायमान बनाईरहेको हुन्छ, भाषा, रितिरिवाज, शैलीहरु समुदायका चलायमान हुन्छन् । त्यसोभएको हुनाले यसलाई अभौतिक भनेर नाम दिन मिल्छ भन्ने लाग्दैन ।’
राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले परम्पराको नाममा नकारात्मक अभ्यासलाई संरक्षण गर्न नहुने बताउनु भयो । उहाँले छुवाछुतजस्ता कु–प्रथालाई सांस्कृतिक परम्पराको नाममा निरन्तरता दिनु गलत भएको उल्लेख गर्नुभयो । मान्छेले अभ्यास गर्दै आएको भन्दैमा सबै कुरा संरक्षण योग्य नहुँने उहाँको भनाई छ । वस्तुनिष्ठ र जनउपयोगी नभएका तथा समाजलाई नकारात्मक असर पार्ने सांस्कृतिक परम्पराको नाममा संरक्षण गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मान्छेले अभ्यास गर्छन् तर त्यो एकदमै नकरात्मक छ भने त्यसलाई निरन्तरता दिनु हुँदैन । छुवाछुत जस्तो कुप्रथालाई परम्परा भनेर अगाडी बढाउन हुँदैन । यसलाई अन्त्य गरेर अगाडी जानुपर्छ । जुन वस्तुवादी छैनन्, जुन जनउपयोगी छैनन्, त्यस्ता परम्पराहरुलाई साँस्कृतिक परम्पराको नाममा संरक्षण गर्नेमा हामी जानु हुँदैन ।’
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले विधेयकमा मूर्त र अमूर्त सम्पदाको वर्गीकरण गर्दा केही महत्वपूर्ण विषय छुटेको बताउनु भयो । उहाँले विशेषगरी गुठीसम्बन्धी विषय विधेयकमा समेटिन नसकेको उल्लेख गर्नुभयो । यसलाई पनि समावेश गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो, ‘यसमा मूर्त, अमूर्त भईराख्दा केही कुराहरु छुटेको छन् । अहिले गुठीका कुराहरु एकदमै बलियो भएर आएको छ । केही अगाडी गठीको आन्दोलन नै भयो । यसमा गुठीको कुरा कतै उठेको छैन । यसलाई पनि समेटेर जानुपर्छ ।’
बैठकमा सांसदहरूको विधेयकको सैद्धान्तिक विषयमा छलफल गरेका थिए । विधेयकको सैद्धान्तिक विषयमा छलफल सकिएको छ । अब दफावार छलफलमा विधेयकमा भएका कमीकमजोरीहरुलाई सच्याउने समिति सभापति तुलसाकुमारी दाहालले जानकारी दिनुभयो ।












