१४ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडी बस दुर्घटनाः मृतक परिवारलाई जनही रु एक लाख उपलब्ध गराउने निर्णय



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधोपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा होलिकप्टरको व्यवस्थापन पनि गरिएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र०२००१ख १११९नम्बरको विवाहका जन्ती चढेको बस पुर्चौंडी सडकखण्डको बडगाउँ भन्ने मोडमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । घाइते ३५ जनामध्ये डडेलधुरा अस्पतामा २३, धनगढीको निसर्ग अस्पतालमा सात र बझाङमा पाँच जनाको उपचार भइरहेको छ ।

उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाहले १३ जनाको ज्यान जानेगरी बिहीबार राति बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । मुख्यमन्त्रीले दुर्घटनामा मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।