काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धि देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको दाबी गर्नुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । वन नियमावलीको तेस्रो संशोधन वर्तमान सरकारले गरेको र त्यो हालसम्मकै सबैभन्दा प्रगतिशील रहेको मन्त्री चौलागाईंको भनाई थियो । उहाँले विकास, निर्माणको काममा निकुञ्ज क्षेत्रमा देखिएका समस्या पनि सो नियमावलीले समाधान गर्ने बताउनु भयो ।
मन्त्री चौलागाईले भन्नुभयो,‘यो सरकार आईसकेपछि वन नियमावलीको तेस्रो संशोधन भएको छ । त्यो संशोधन राजपत्रमा पनि आईसकेको छ । र, त्यसमा अहिलेसम्मकै प्रोग्रेसिव सुधारहरु आएका छन । यो भर्खरै भएको हुनाले मानिसहरुको चर्चामा आउन समय लाग्छ । विगतमा दिइएको सुझावहरुलाई ध्यानमा राखेर त्यो आएको छ । विशेष गरी काठहरुको सदुपयोग गर्न त्यसले काम गर्छ । जुन संरक्षणमुखि हाम्रा नीतिहरु थिए । त्यसको प्रभावकारी कार्यान्वयनमा पनि त्यसबाट हुनेछ ।’
मन्त्री चौलागाईंले वन्यजन्तुबाट मानव बस्तीमा हुने क्षति नियन्त्रण गर्न पनि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नं पहल गरिरहेको बताउनु भयो ।












