२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने



अ+ अ-

नूक। अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ। नूकस्थित अमेरिकी वाणिज्यदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

वाणिज्यदूतावासका अनुसार यो भ्रमण ग्रिनल्याण्ड सरकारको निमन्त्रणामा हुन लागेको हो। तर प्रतिनिधिमण्डलमा सहभागी हुने सबै सांसदको नाम सार्वजनिक गरिएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार सिनेटर लिसा मर्कोव्स्की भ्रमणमा सहभागी हुने अपेक्षा गरिएको छ।

मर्कोव्स्की हालै डेनमार्क भ्रमणमा गएकी थिइन्। सो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन चाहेको अभिव्यक्तिपछि उत्पन्न तनावबारे छलफल गर्न केन्द्रित थियो।

भ्रमणका क्रममा अमेरिकी सांसदहरूले ग्रिनल्याण्डका स्थानीय अधिकारी, संसद् सदस्य तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्नेछन्। वाणिज्यदूतावासका अनुसार उक्त भेटघाटको उद्देश्य ग्रिनल्याण्ड सरकार र जनताको दृष्टिकोण बुझ्नु तथा द्विपक्षीय सम्बन्धबारे छलफल गर्नु रहेको छ।

यसैबीच, शुक्रबार फ्रान्स र क्यानडाले नूकमा आ–आफ्ना वाणिज्यदूतावास स्थापना गरेका छन्। फ्रान्सले ग्रिनल्याण्डमा वाणिज्यदूतावास खोलेसँगै स्वशासित डेनिस भूभागमा कूटनीतिक कार्यालय स्थापना गर्ने पहिलो युरोपेली संघको सदस्य राष्ट्र बनेको फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ।

फ्रान्सले जाँ–नोएल पोइरियेलाई नूकका लागि महावाणिज्यदूतको रूपमा नियुक्त गरेको छ। यस कदमले फ्रान्सको वाणिज्यदूत सेवा सञ्जाललाई सुदृढ बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

क्यानडाको नयाँ वाणिज्यदूतावास उद्घाटन समारोहमा क्यानडाकी विदेश मन्त्री अनिता आनन्द, क्यानडाकी गभर्नर जनरल मेरी साइमन तथा ग्रिनल्याण्डकी विदेश मन्त्री भिभियन मोट्सफेल्ट सहभागी हुनुभएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार साइमनले भ्रमणका क्रममा ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग पनि भेट गर्ने कार्यक्रम छ।

विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड डेनमार्क अधिराज्यअन्तर्गतको स्वशासित भूभाग हो। यसको रक्षा र विदेश नीतिको जिम्मेवारी भने कोपनहेगनसँग नै रहेको छ। सन् २०२५ मा पुनः राष्ट्रपति पद सम्हालेपछि डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन्, तर युरोपेली मुलुकहरूले उक्त प्रस्तावलाई निरन्तर अस्वीकार गर्दै आएका छन्। रासस/सिन्ह्वा)