बागलुङ। जिल्लाका दुई हजार ३२० किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।
आगामी फागुन १ देखि १५ गतेसम्म जिल्लाका २२० विद्यालयमा अध्ययन गर्ने दुई हजार ३१३ र विद्यालयभन्दा बाहिरका सात जना किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको हो ।
विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाइने छ । अघिल्लो वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १०–१४ वर्षका ११ हजार १७७ जनालाई खोप लगाइएको थियो ।
गत वर्ष अभियानका रूपमा लगाइएको खोप यस वर्ष नियमित लगाउन सुरु गरिएको खत्रीले बताउनुभयो । अघिल्लो वर्षभन्दा यस वर्ष खोप लगाउन मापदण्ड फरक भएको उहाँले उल्लेख गर्नुभयो । अघिल्लो वर्ष ६–१० कक्षामा अध्ययन गर्ने र १०–१४ वर्षका किशोरीलाई खोप लगाएकामा यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने र विद्यालय बाहिरका १० वर्षका किशोरीलाई खोप दिइने खत्रीले जानकारी दिनुभयो । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएकाले यो खोप नपाएकाले गत वर्षदेखि खोप अभियान प्रारम्भ भएको थियो ।
खत्रीले भन्नुभयो, “जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ ।
विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ ।” खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उहाँले अनुरोध गर्नुभयो । रासस












