२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचन : फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने



अ+ अ-

काठमाडौँ। देशभरका छ हजार ७४३ वडामा आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उल्लेख छ ।

स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने छन् ।

आयोगले विगतदेखि सबै स्थानीय तहमा एक/एकजना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो । आसन्न निर्वाचनमा पनि तिनै सम्पर्क व्यक्तिलाई निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको रूपमा तोकेको आयोगले जनाएको छ ।

मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम माघ महिनाको अन्तिमसम्म भइसक्ने गरी काम भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । आयोगका आधिकारिक सामाजिक सञ्जालका पेजबाट समेत निर्वाचनसम्बन्धी आवश्यक सामग्री प्रचारप्रसार भइरहेको छ ।

आमसञ्चार माध्यममार्फत् पनि मतदाता शिक्षा र निर्वाचन प्रचारप्रसार कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाइने उल्लेख गरिएको छ । यस कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत एवम् भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्ने विश्वास गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालाई निर्वाचन आचारसंहितासँगै मतदान प्रक्रियाबारे सही रूपमा जानकारी प्रदान गर्ने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ स्वीकृत गरेको हो ।

निर्वाचनमा आम नागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको प्रयोग तथा मतदान विधिबारे समयमै जानकारी दिने उद्देश्यले यही माघ १९ गते मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ स्वीकृत भएको हो । सोही बमोजिम आयोगले काम गरिरहेको आयोगका सहसचिव एवम् प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन, मतदाता शिक्षा नीति, निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ को दफा १७ बमोजिम निर्वाचन आयोगले मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम तयार गरी स्वीकृत गरेको उहाँले बताउनुभयो ।

आम नागरिकलाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु, मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि गरी बदर मतको सङ््ख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रमको प्रमुख उद्देश्य रहेको पनि प्रवक्ता भट्टराईले बताउनुभयो ।

मतदाता शिक्षाका लागि आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम्सेवक परिचालन गरिने जनाइएको छ । रासस




भर्खरै