काठमाडौँ। गाजा सिटीको केन्द्रमा रहेको फिरास मार्केट क्षेत्रबाट संकलित हजारौं घनमिटर फोहोर हटाउने कार्य बुधवार शुरु भएको छ ।
यस कदमको उद्देश्य वातावरणीय दबाब कम गर्नु र व्यापारिक गतिविधिहरूलाई पुनरुत्थान गर्नु रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
गाजा नगरपालिकाले एक प्रेस विज्ञप्तिमा जानकारी दिएअनुसार यो परियोजना अन्तर्गत फिरास मार्केटमा रहेको अस्थायी ल्याण्डफिलबाट लगभग ३ लाख ५० हजार घनमिटर फोहोरलाई सहरको दक्षिणी भागमा रहेको अर्को तोकिएको ठाउँमा स्थानान्तरण गरिनेछ ।
नगरपालिकाका अनुसार यो अपरेसन संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा सञ्चालन भइरहेको छ ।
गाजास्थित एनजीओ नेटवर्कका निर्देशक अमजद अल–शावाकाअनुसार फिरास मार्केटबाट फोहोर हटाउने कार्यको थालनी एक सकारात्मक विकास हो ।
उहाँले यो कदम अस्थायी भएपनि यसले गाजा क्षेत्रका बासिन्दाहरूलाई आधारभूत सेवाहरूमा भोग्नु परिरहेको ठूला चुनौतीहरूका बीच केही राहत प्रदान गर्ने बताउनु भयो ।
स्थानीय बासिन्दाहरूले पनि यस पहलको समर्थन गरेका छन् । (सिन्ह्वा/ न्युज एजेन्सी नेपाल)












