११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ। महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने करिब चार हजार साधुसन्तहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

“दर्शनार्थीको अत्यधिक घुइँचो व्यवस्थापन गर्न चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।”

महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिनेछ । घुइँचो नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपतकालीन उद्धार तथा शंकास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपतकालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ ।

दर्शनलाई सहज बनाउन चार वटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रहरूको संख्या बढाइएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ ।

कोषले स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई आवश्यक सूचना, सहजीकरण र मार्गनिर्देशन गर्ने व्यवस्था गरेको जनाएको छ । माइकिङ प्रणालीमार्फत भीडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण गरिनेछ । महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा वृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ । मन्दिर परिसर, घाट क्षेत्र, सडक र सार्वजनिकस्थलमा रङरोगन तथा सौन्दर्यकरण गरिएको छ ।

बागमती नदी किनार क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरी वातावरण स्वच्छ राख्न ध्यान दिइएको छ । फोहर व्यवस्थापनका लागि थप डस्टबिन राखिएको छ भने दैनिक रूपमा फोहर सङ्कलन र व्यवस्थापन गर्न विशेष टोली खटाइने जनाइएको छ ।

महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट आउने साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको छ । उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिनेछ ।

महाशिवरात्रिको राति विशेष पूजाआजा, आरती, भजन–कीर्तन तथा धार्मिक प्रवचन कार्यक्रम सञ्चालन गरिनेछ । देशभरका भक्तजन पशुपतिनाथमा जम्मा भई भगवान् शिवको आराधना गर्ने परम्पराअनुसार यसवर्ष भव्य रूपमा पर्व मनाइने अपेक्षा गरिएको कोषका कार्यकारी निर्देशक जोशीले बताउनुभयो ।

कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । महाशिवरात्रि पर्वलाई शान्त, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिएको जनाइएको छ ।

यस वर्षको महाशिवरात्रि पर्वलाई धार्मिक आस्था, सांस्कृतिक महत्व र व्यवस्थापनको दृष्टिले ऐतिहासिक बनाउने लक्ष्यसहित तयारीलाई अन्तिम रूप दिइएको कोषले जनाएको छ । रासस