२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो



अ+ अ-

लिभरपुलबाट रियल म्याड्रिड पुगेका ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले दुई महिनापछि पहिलो पटक सुरुआती टोलीमा खेल्दै राम्रा मुभ बनाएका कारण रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । यो जितसँगै स्पेनी लिग ला लिगामा बार्सिलोनालाइ पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ।

डिसेम्बर र जनवरीमा तिघ्राको चोटका कारण मैदान बाहिर रहेका इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी आर्नोल्डले खेलको पाँचौँ मिनेटमा उत्कृष्ट क्रस दिएका थिए, जसलाई गोन्जालो गार्सियाले गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। यो जितसँगै रियलले यस सिजन लिगमा लगातार आठौँ खेल जितेको छ ।

सोसिडाडले २१औँ मिनेटमा बराबरी गोल फर्कायो। क्षेत्रभित्र फाउल भएपछि प्राप्त पेनाल्टीलाई मिकेल अभरजाबलले गोलमा परिणत गरे।

तर चार मिनेटपछि नै रियलले पुनः अग्रता लियो। ब्राजिलियन फर्वार्ड भिनिसियस जुनियर माथि फल भएपछि पाएको पेनाल्टीलाई रियलले गोलमा परिणत गर्‍यो। त्यसको छ मिनेटपछि फेडेरिको भल्भर्डले  शक्तिशाली प्रहार गर्दै टोलीको अग्रता फराकिलो बनाए।

दोस्रो हाफको ४८औँ मिनेटमा भिनिसियसले पुनः पेनाल्टीमार्फत गोल गर्दै सिजनको आफ्नो १०औँ गोल गरे र टोलीको जित सुनिश्चित गरे।

यस जितसँगै रियल म्याड्रिडले दोस्रो स्थानको बार्सिलोना भन्दा दुई अंकको अग्रता बनाएको छ। बार्सिलोनाले सोमबार जिरोनासँग खेल्नेछ।

रियल म्याड्रिडले अब मंगलबार बेन्फिका विरुद्ध च्याम्पियन्स लिग प्लेअफ खेल्नेछ।