१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन



अ+ अ-

भोजपुर। रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

गाउँपालिकाभित्र रहेका लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिनको निःशुल्क विशेष तयारी कक्षा सुरु गरेको हो । स्थानीय तहबाटै लोक सेवा तथा शिक्षक सेवासम्बन्धी जागरण फैलाएर सक्षम र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई सक्षम, सबल र आत्मनिर्भर बनाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको हो ।

“अध्ययनरत तथा आवश्यक योग्यता पुगेका विद्यार्थीलाई लक्षित गरेर लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “युवालाई रोजगारीसँगै दिगो जीविकोपार्जनका आधारमा जोड्ने लक्ष्य हाम्रो हो । तयारी कक्षाले सरकारी सेवामा प्रवेश गर्ने अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ ।”

स्थानीय तहले सञ्चालन गरेको यस्तो कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाबाट गएर भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्राथमिकतामा राख्दै सोही क्याम्पस परिसरमा कक्षा सञ्चालन भइरहेको छ ।

हाल उक्त तयारी कक्षामा ५० विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । नियमित कक्षा, नमूना प्रश्नपत्र अभ्यास, समूह छलफल तथा मार्गदर्शनमार्फत तयारीलाई प्रभावकारी बनाइँदै आएको छ ।

गाउँपालिकाले आगामी दिनमा आवश्यकता र उपलब्धिका आधारमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । ग्रामीण क्षेत्रमै प्रतिस्पर्धात्मक परीक्षा तयारीको अवसर उपलब्ध गराइएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् ।  रासस