२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशको प्रधानमन्त्रीको शपथग्रहण समारोहमा भारतको प्रतिनिधित्व सभामुख ओम बिरलाले गर्ने



अ+ अ-

ढाका। बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा तारिक रहमानको शपथग्रहण समारोहमा भारतको प्रतिनिधित्व लोकसभा सभामुख ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले गर्नुहुने भएको छ ।

भारतको विदेश मन्त्रालय र बीएनपी अर्थात् बङ्गलादेश नेशनलिस्ट पार्टीको सञ्चार शाखाले यसको पुष्टि गर्नुभएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लोकसभाका सभामुख ओम बिरलाले सन् २०२६ फेब्रुअरी १७ मा ढाकामा बङ्गलादेश नेसनलिस्ट पार्टीका अध्यक्ष तारिक रहमानको नेतृत्वमा नवनिर्वाचित बङ्गलादेश सरकारको नेतृत्वको शपथ ग्रहण समारोहमा भारत सरकारको प्रतिनिधित्व गर्नुहुनेछ ।”

उहाँले भन्नुभयो, “यस महत्त्वपूर्ण कार्यक्रममा लोकसभा सभामुखको सहभागिताले भारत र बङ्गलादेशका जनताबीचको गहिरो र स्थायी मित्रतालाई रेखाङ्कित गर्दछ। यो हाम्रा दुई देशहरूलाई बाँध्ने लोकतान्त्रिक मूल्यहरूप्रति भारतको अटुट प्रतिबद्धताको पुनः पुष्टि पनि हो।”

“साझा इतिहास, संस्कृति र आपसी सम्मान भएको छिमेकीको रूपमा, तारिक रहमानको नेतृत्वमा बङ्गलादेशको निर्वाचित सरकारको भारतले स्वागत गर्दछ, जसको दृष्टि र मूल्यहरूलाई बङ्गलादेशका जनताले भारी जनादेश दिएका छन्।

प्रधान मन्त्री नरेन्द्र मोदीले बीएनपीका अध्यक्ष तारिक रहमानलाई यसअघि नै फोन गरेर बधाई दिनुभएको छ ।

बङ्गलादेशको तेह्रौँ संसदीय निर्वाचनमा बीएनपीले भारी बहुमतको साथ सरकार बनाउन गइरहेको छ र पार्टी अध्यक्ष तारिक रहमान देशको नयाँ प्रधानमन्त्री बन्नुभएको छ ।

बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले नयाँ मन्त्रिपरिषद्को सपथग्रहण समारोहमा सहभागी हुन १३ देशका सरकार प्रमुखलाई निमन्त्रणा गर्नुभएको छ ।

अहिलेसम्म चीन, साउदी अरब, भारत, पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाई, श्रीलङ्का, नेपाल, माल्दिभ्स, भुटानलाई निमन्त्रणा गरिएको सरकारी स्रोतहरूले बताएका छन् । (रासस/एएनआई)