१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बहुभाषिकता सामूहिक चेतनाको प्रतीक’



अ+ अ-

काठमाडौँ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष रेसम गुरुङले मातृभाषा संरक्षण केवल सांस्कृतिक विषय मात्र नभइ शैक्षिक रूपमा पनि प्रभावकारी र दिगो उपाय भएको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उहाँले मातृभाषा संरक्षणप्रति अघात प्रतिबद्धता र सामूहिक चेतनाको प्रतीकका रूपमा दिवसलाई ग्रहण गरिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार बहुभाषिक शिक्षा केवल शिक्षण पद्दति मात्र नभइ समानता, समावेशिता र सांस्कृतिक न्यायको आधार हो। बहुभाषिक शिक्षा लागूभएका देशहरूमा बालबालिकाको सिकाइ उपलब्धि, आत्मविश्वास र विद्यालयमा निरन्तरताको दर बढेको अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

यस वर्षको नारा ‘बहुभाषिक शिक्षामा युवाहरूको आवाज’ले युवालाई सहभागी मात्र नभइ सहनिर्माताका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको उहाँको भनाइ थियो । “विविधता हाम्रो कमजोरी होइन, हाम्रो शक्ति, पहिचान र गौरव हो,” उहाँले भन्नुभयो ।

लोपउन्मुख भाषाको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उहाँको जोड थियो। अध्यक्ष गुरुङले मातृभाषामा प्रारम्भिक शिक्षालाई गुणस्तरीय बनाउन, भाषासम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्न, समुदाय सरकार र शैक्षिक संस्थाबीच सहकार्य सुदृढ गर्न तथा डिजिटल युगअनुकूल सामग्री विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा मातृभाषा संरक्षण, विकास र उत्थानका लागि समुदायले गरेका असल अभ्यास, उपलब्धि र नवप्रयोग सार्वजनिक गरिएको थियो । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, साहित्य, सङ्गीत, चलचित्र, अनुसन्धान र उद्यमशीलतामार्फत मातृभाषालाई आधुनिक युगसँग जोड्नुपर्नेमा जोड दिइएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ भाषा रहेको र तीमध्ये केही भाषा लोपउन्मुख अवस्थामा रहेको छन् ।

मातृभाषामा पठनपाठन भइरहेका विद्यालयका शिक्षकलाई प्रशिक्षण, शब्दकोष तथा पाठ्यसामग्री निर्माण, लिपि विकास र अभिलेखीकरणजस्ता कार्य प्रतिष्ठानले गर्दै आएको छ। प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा माझी, सुनुवार, थामी, तामाङ, दुरा, नेवार, ह्योल्मो, राई, लिम्बू, मगर, थारु, भोटे, छन्त्याल, शेर्पा र सुरेल समुदायका प्रतिनिधिले आ–आफ्ना भाषासम्बन्धी अनुभव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिहरूले आदिवासीसम्बन्धी ऐन, कानुन र नियमावली बहुभाषिक बनाउन तथा कार्यक्रममा अनुवाद र प्रविधिको व्यवस्था गर्न सुझाव प्रस्तुत गर्नुभएको थियो । अन्तरराष्ट्रिय मातृभाषा दिवसको पृष्ठभूमिमा सन् १९५२ फेब्रुअरी २१ मा बङ्गलादेशको ढाकामा विद्यार्थीले बङ्गाली भाषालाई राष्ट्रभाषाको मान्यता दिन माग गर्दै गरेको आन्दोलनलाई स्मरण गरिन्छ ।

बङ्गलादेशकै पहलमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९९ मा २१ फेब्रुअरीलाई अन्तरराष्ट्रिय मातृभाषा दिवस घोषणा गरेको हो । सन् २००० देखि यो दिवस विश्वभर मनाइँदै आएको छ । रासस