२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ मै निर्वाचन हुनेमा मतदाता र सुरक्षा निकाय ढुक्क, नयाँ शक्तिप्रति बढ्दो भरोसा



अ+ अ-

काठमाडाैँ । निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनेमा सरोकारवाला निकाय विश्वस्त रहेको एक अध्ययनले देखाएको छ। नेपाल कानून समाजले सार्वजनिक गरेको ‘निर्वाचनको वातावरण सम्बन्धी अध्ययन’ अनुसार फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै सम्पन्न हुनेमा आम मतदाता, राजनीतिक दल, सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिहरू आशावादी देखिएका छन्।

३५ जिल्लाका ३३ स्थानीय तहमा गरिएको अध्ययनमा ७१ प्रतिशत आम मतदाताले तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरेका छन्। १६ देखि २९ वर्ष उमेर समूहका ७२ प्रतिशत युवा मतदाता यसबारे बढी ढुक्क देखिएका छन्। प्रदेशगत रूपमा मधेसमा ७९ प्रतिशतले निर्वाचन समयमै हुने विश्वास व्यक्त गरेका छन् भने कर्णालीमा केही संशय देखिएको अध्ययनले उल्लेख गरेको छ। समग्रमा १६ प्रतिशत मतदातामा अझै अन्योल कायम रहेको देखिन्छ।

सुरक्षा व्यवस्थातर्फ ९१.७ प्रतिशत सुरक्षाकर्मीले निर्धारित मितिमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार, फरार कैदीबन्दी, आपराधिक समूह र दल–उम्मेदवारबिचको अस्वस्थ प्रतिस्पर्धालाई चुनौतीका रूपमा औंल्याइए पनि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आएकाले शान्ति सुरक्षाको अवस्था नियन्त्रणमा रहने दाबी गरिएको छ। लुम्बिनीमा ६५ प्रतिशत र सुदूरपश्चिममा ५१ प्रतिशत क्षेत्रमा विशेष सुरक्षा प्रणाली अवलम्बन गरिएको छ।

सामाजिक सञ्जालको प्रभाव विशेष गरी युवा मतदातामा उच्च देखिएको छ। जेन–जी समूहका ३२ प्रतिशत मतदाताले आफ्नो मतदान निर्णयमा सामाजिक सञ्जालको उच्च प्रभाव पर्ने बताएका छन्। ३४ प्रतिशतले पैसा र पहुँचको दुरुपयोगबाट निर्वाचन स्वच्छतामा असर पर्न सक्ने आशंका व्यक्त गरेका छन्।

मतदाताले यस निर्वाचनलाई विगतभन्दा भिन्न र विशिष्ट मानेका छन्। २४ प्रतिशत मतदाता संविधान संशोधनमार्फत संरचनागत परिवर्तन हुनेमा दृढ देखिएका छन् भने ३४ प्रतिशतले दलहरूबीच सहमति भएमा सम्भव हुने बताएका छन्। १८ प्रतिशतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था कार्यान्वयनमा आउने अपेक्षा गरेका छन्।

जेन–जी आन्दोलनपछिको परिवेशमा नयाँ राजनीतिक शक्तिप्रति आकर्षण उल्लेखनीय देखिएको छ। ८४ प्रतिशत मतदाताले नयाँ शक्तिको उदय हुने विश्वास व्यक्त गरेका छन् भने ३९ प्रतिशतले नयाँ दललाई मतदान गर्ने मनसाय देखाएका छन्। १६ देखि २९ वर्ष उमेर समूहका ५५ प्रतिशत मतदाता नयाँ शक्तितर्फ झुकाव राख्ने संकेत गरिएको छ। करिब २४ प्रतिशत मतदाताले यसपटक मत परिवर्तन गर्ने देखिएको अध्ययनले जनाएको छ।

समग्रमा केही सुरक्षा चुनौती र आशंका कायम रहे पनि सरकारी तयारी, दलहरूको सक्रियता र मतदाताको उत्साहका कारण फागुन २१ को निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने संकेत अध्ययनले दिएको छ।