२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्ग विस्तार: अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् ।

सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन ।

आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने अवस्था आएको छ । सडक आयोजनाले काम गर्ने क्रममा कतै पोल गाडिएको ठाउँलाई छाडेर चारैतिर कालोपत्र गरिसकेको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ । कतिपय ठाउँमा पोल गाडिएको चारैतिरको भाग खनेर पोलमात्र अलपत्र पारिएका कारण दुर्घटनाको जोखिमसमेत उच्च भएको छ ।

सडक विस्तारका क्रममा सार्नुपर्ने बिजुलीका पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्नेगरी सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश प्रादेशिक कार्यालयबीच सम्झौता भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । प्राधिकरणले पोल सार्न ठेकेदारलाई जिम्मा दिएको र ठेकेदारले काममा ढिलाइ गरेको हो ।

पूर्वी खण्डमा सार्नुपर्ने करिब ५०० पोलमध्ये अब करिब १०० जति पोल सार्न बाँकी छ, तर तिनै पोलका कारण मुख्य खण्डको काम प्रभावित भएको पूर्वी खण्डका इन्जिनियर ओझाको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश, प्रादेशिक कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने पोल सार्न ढिलाइ नगरेको र काम भइरहेको दाबी गरेका छन् । “काम भइरहेकै छ, व्यावहारिक कठिनाइ हो । ठेकेदारसँग बुझेर मात्र थप कुरा भन्न सकिन्छ”, उनले भने ।

काम गर्ने निकायहरूबीचको समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना त्यसमाथि पनि राजमार्गजस्तो संवेदनशील क्षेत्रमा विकासको काममा अवरोध पुग्नुका साथै यात्रा जोखिम बन्दै गएको छ ।