काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
नगरपालिकामा करारमा कार्यरत असिस्टेन्ट सब इन्जिनियर मोहन शाहको म्याद थप गर्न एक लाख रुपैयाँ घुस लिएको अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले अनुसन्धान गर्दा शाहले पुष्प वादीको खातामा २०८१/८२ मा एक लाख रुपैयाँ जम्मा गरेको देखिएको थियो । उक्त रकम बैंक खातामा जम्मा गरेपछि मात्र शाहको म्याद थप भएको अख्तियारको भनाइ छ ।
तर आर्थिक वर्ष २०८२/८३ मा म्याद थप गर्न फेरि भनेपनि आफूले नदिएपछि सेवाबाटै बर्खास्त गरेको शाहको आरोप छ ।
आयोगले नगर प्रमुख पुष्प वादी विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम एक लाख रूपैयाँ बिगो कायम गरेको छ । आयोगले घुस रकम दिएर करार म्याद थप गर्ने मोहन शाहलाई पनि एक लाख बिगो सहित भ्रष्टाचारको आरोपमा कारबाही गर्न आरोपपत्रमा माग गरेको छ ।












