नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण रहेको भन्दै यस्तो अवस्थामा नेपाल–भारत वार्ता सम्भव नहुने टिप्पणी गरेका छन् । उनले आन्दोलनको परिस्थितिमा परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकले वार्ताबाट कुनै परिणाम ननिस्कने समेत जिकिर गरे ।
‘कालापानी नेपालमा भावनात्मक (इमोसनल) इस्यु भएको छ । हामी पनि चीनका विषयमा इमोसनल हुन्छौँ । सीमाका विषयमा यो स्वाभाविकै हो,’ निवर्तमान राजदूत रायले दिल्लीमा शुक्रबार फोरम फरक इनोभेटिभ रिसर्च एन्ड कन्स्ट्रक्टिभ डायलगद्वारा आयोजित कार्यक्रममा भने, ‘अहिले नेपाल र भारतमा बलियो र राजनीतिक इच्छाशक्ति भएका सरकार छन् । संवादको वातावरण बनाएर विद्यमान कूटनीतिक संयन्त्रलाई अघि बढाउनुपर्छ ।’ नेपाल र भारतका सबै तह र तप्काबीच संवाद सघन बनाउनुपर्ने पनि उनको भनाइ थियो ।

पूर्वराजदूत जयन्तप्रसादले तीन दशकअघि नेपाल र भारतका नेताहरूबीच परस्पर सम्बन्ध रहेको तर अहिले राजनीतिक तहमा सम्पर्क टुटेको टिप्पणी गरे । ‘२५/३० वर्षअघिजस्तो नेपाल र भारतका नेताहरूबीच परस्पर सम्बन्ध टुटेको छ, हाम्रो सामाजिक राजनीतिक सम्बन्ध सघन बनाउनुपर्छ,’ जयन्तप्रसादले भने । नेपाल–भारत सम्बन्धका जानकार प्राध्यापक एसडी मुनीले कालापानीका विषयमा भारतले निकालेको नक्साको नेपालमा विरोध भएको उल्लेख गर्दै यसले सम्बन्ध बिग्रिने टिप्पणी गरे ।
‘विदेश सचिवस्तरीय बैठक बसेर छलफल गर्ने एउटा कूटनीतिक प्रक्रिया सुरु भइसकेको छ । यसमा समय लाग्छ, ’ मुनीले टिप्पणी गरे । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले परिवर्तनलाई नेपाल र भारत दुवैले आत्मसात गर्नुपर्ने बताए । आचार्यले भने, ‘नेपाल र भारतबीच समानता र विविधता दुवै छन् । कुनै वेला भारतका सल्लाहकार नेपालको क्याबिनेटमा थिए । अहिले बदलाब आएको छ । यो बदलाबलाई सम्बोधन गर्नुपर्छ ।’ नयाँ पत्रिका दैनिकबाट












