२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुष राष्ट्रिय लिग र शहीद स्मारक महिला लिग स्थगित



अ+ अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिश्चितकालका लागि एन्फा राष्ट्रिय लिग र शहीद स्मारक महिला राष्ट्रिय लिग दुवै स्थगित गरेको छ ।

श्रम स्वीकृति बिना नै विदेशी खेलाडी खेलाएको आरोप लागेपछि एन्फाले अर्को सूचना नआएसम्म महिला र पुरुष दुवै प्रतियोगिता स्थगित गरेको जनाएको छ ।

एन्फाले बिहीवार फरकफरक समयमा प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय लिग र शहीद स्मारक महिला राष्ट्रिय लिग स्थगित गरेको जानकारी दिएको हो ।

श्रम स्विकृतिबिना नै विदेशी खेलाडीलाई खेलाएको भन्दै श्रम विभागमा उजुरी परेको थियो । विभागले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा नखेलाउन निर्देशन जारी गर्दै बिहीबार नै एन्फलाई पत्र पठाएको थियो ।

पर्यटक भिसामा रहेका विदेशी नागरिकलाई कुनै पनि व्यावसायिक खेल गतिविधिमा संलग्न गराउन नपाइने विभागले स्पष्ट पारेको छ । भिसाको उद्देश्यविपरीत गतिविधमा संलग्न भएमा तत्काल कानूनी कारबाही हुने विभागले चेतावनी दिएको थियो ।

त्यसपछि बिहीबार नै एन्फाले राष्ट्रिय लिगमा साँझ मच्छिन्द्र क्लव र एपिएफबीचको खेल स्थगित गरेको सूचना जारी गरेको हो । यो खेल उपाधि निर्णयका लागि महत्वपूर्ण सावित पनि हुँदै थियो । ९८ खेलपछि राष्ट्रिय लिग स्थगित भएको हो । जुन अब अनिश्चित बनेको छ । शहीद स्मारक महिला राष्ट्रिय लिग बुधवारदेखि शुरु भएको थियो । पहिलो दिन दुई खेल भए । बिहीवार पनि दुई खेल भएपछि एन्फाले अर्को सूचना नआएसम्म महिला लिग पनि स्थगित गर्ने निर्णय गरेको छ ।

पुरुषततर्फ पनि बिहीवार दुई खेल सम्पन्न भए । पहिलो खेलमा लालीगुराँस एशोसिएशनले चित्लाङ एफसीलाई र दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले सातदोबाटो युथ क्लवलाई समान १–० ले हराएका थिए ।

राष्ट्रिय लिगमा केही क्लवहरुले पर्यटक भिसामा रहेका विदेशी खेलाडी उतारेको उजुरीपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विवरण माग गरेको थियो ।

एन्फाको निर्वाचनमा आगामी चैत १३ गते तय थियो । निर्वाचन नजिकिँदै गर्दा एन्फा आन्तरिक विवादमा परेको छ भने प्रतियोगिता पनि प्रभावित भएको छ । राखेपले निर्वाचन पनि रोक्न निर्देशन दिएको छ । –न्युज एजेन्सी नेपाल