काठमाडाैँ । नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले चलाएको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छिन्।
बिहीबार अपरान्ह जंगल नजिक घाँस काट्ने क्रममा ४१ वर्षीया स्थानीय कान्छिमाया तामाङलाई सिकारीले चलाएको गोली छातीमा लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो। गोली लागेपछि गम्भीर घाइते अवस्थामा रहेकी तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँस्थित धुमबाराहीको ह्याम्स अस्पताल लगिएको छ, जहाँ उहाँको उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार सो घटनाको समयमा स्थानीय १७–१८ जनाको समूह बस्ती नजिकैको जंगलमा सिकार खेल्न गएको र सोही क्रममा गोली चल्दा दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले दुई थान भरुवा बन्दुक र एउटा मृगको मासु बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












