२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

 बाजुरामा स्वास्थ्य शिविर, एक हजारभन्दा बढीको उपचार, पाठेघर समस्या बढी देखियो



अ+ अ-

काठमाडाैँ । बाजुराको हिमाली गाउँपालिकामा सञ्चालन गरिएको पाँचदिने घुम्ती स्वास्थ्य शिविरमार्फत एक हजारभन्दा बढी नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ।

पाठेघर खस्ने समस्या र पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा उपचारलाई लक्षित गरी सञ्चालन गरिएको शिविर यही चैत १ गतेदेखि बिहीबारसम्म विभिन्न वडामा सम्पन्न भएको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीका अनुसार शिविरमा गाउँपालिकाका सातै वडाका सेवाग्राहीहरूको सहभागिता रहेको थियो। उनले धुलाचौरमा वडा नं ४, ६ र ७ का नागरिक, कुवाडीमा वडा नं ५ का बासिन्दा तथा विच्छ्याँमा वडा नं १, २ र ३ का नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको जानकारी  दिए ।

शिविरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या जस्तै पाठेघर खस्ने, सेतोपानी बग्ने, पाठेघरको मुखको क्यान्सर तथा रक्तअल्पताको परीक्षण र उपचार सेवा प्रदान गरेको थियो। साथै नसर्ने रोगहरूको समेत स्क्रिनिङ गरिएको थियो।

स्वास्थ्य शाखाका अनुसार शिविरमा पाँच सयभन्दा बढी महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको छ भने १४८ जनामा दम, मुटुरोग, मिर्गौला परीक्षण तथा मधुमेहसम्बन्धी जाँच गरिएको छ। यस्तै ६२ जनामा भिआईए तथा पाठेघरको मुखको क्यान्सर परीक्षण र १४ जनामा प्रयोगशाला परीक्षणमार्फत क्षयरोगसम्बन्धी जाँच गरिएको थियो।

चिकित्सक डा. रञ्जित शाहका अनुसार परीक्षण गरिएका महिलामध्ये ५० प्रतिशतभन्दा बढीमा पाठेघर खस्ने समस्या देखिएको छ। उहाँका अनुसार महिनावारी तथा सुत्केरी अवस्थामा भारी काम गर्ने बानीका कारण यस्तो समस्या बढी देखिएको हो।

स्वास्थ्य शाखा प्रमुख भण्डारीले कामको अत्यधिक बोझ, पोषणयुक्त खानाको कमी र बालविवाहजस्ता कारणले पनि पाठेघरसम्बन्धी समस्या बढिरहेको बताउनुभयो। उहाँका अनुसार विच्छ्याँको उच्च हिमाली भेगमा नसासम्बन्धी रोगको समस्या पनि बढी देखिएको छ।

हिमाली गाउँपालिकामा रहेका आधारभूत स्वास्थ्य इकाइहरूबाट सामान्य उपचार मात्र हुने भएकाले जटिल समस्या भएका बिरामीहरूलाई कोल्टी वा जिल्ला अस्पताल मार्तडीसम्म पुग्नुपर्ने बाध्यता रहेको छ।

गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन नागरिक उपचार सहायता कोषमार्फत नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए।




भर्खरै