२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गति लिँदै लुम्बिनीका ठूला आयोजना



अ+ अ-

भैरहवा। गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय ठूला आयोजना निर्माणको कामले गति लिन थालेको छ । तीन वर्षभित्र गुरुयोजना अनुसारका काम सम्पन्न गर्ने उद्देश्यअनुरुप आयोजना निर्माणका काम तीव्र पारिएको हो । लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार कतिपय आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा पाँच हजार मानिस अट्ने सम्मेलन तथा मेडिटेसन सेन्टर निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि सम्मेलन केन्द्र निर्माण भइरहेको हो ।

भट्टराईका अनुसार केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणको काम तीव्र गतिमा भइरहेका कारण आउँदो बुद्ध जयन्ती यही सम्मेलन केन्द्रमा गर्ने कोषको तयारी छ । आठ हजार पाँच सय वर्गफिटमा निर्माण भइरहेको सम्मेलन केन्द्र ३१ करोड ८९ लाख ९५ हजारको लागतमा बन्न लागेको हो । दोस्रो चरणअन्तर्गतको शौचालय, सौन्दर्यीकरणलगायतका कामका लागि डिजाइन तयार हुँदै गरेको सदस्य–सचिव भट्टराईको भनाइ छ । त्यस्तै लुम्बिनीको अर्को महìवपूर्ण ठूलो आयोजनाअन्तर्गत सबै संरचनालाई आवश्यक पर्ने बिजुली व्यवस्थापनको काम पुस मसान्तसम्म सक्ने गरी अगाडि बढेको कोषले जनाएको छ ।

हालसम्म बिजुली व्यवस्थापनको काम ९५ प्रतिशत सकिएको कोषको दाबी छ । यो काम सम्पन्न भएपछि लुम्बिनीमा आफ्नै बिजुलीको व्यवस्था हुनेछ । त्यसका लागि ५० किलोमिटर गुणस्तरीय केबुल लाग्नेछ । उक्त तार जडानका लागि पोल निर्माणको काम सकिएको छ । लुम्बिनीभित्र ५८० वटा सोलार, मायादेवी मन्दिर वरिपरि ३३३ वटा विशेष किसिमको गार्डेन लगाउने काम सुरु भएको छ । त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफर्मर राख्ने काम सुरु भएको छ । त्यसपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ भने लुम्बिनीमा बाङ्गिएका, खिइएका तार, पोल सबै हट्ने छन् । बिजुली व्यवस्थापनको काम २६ करोड २८ लाख ६६ हजारको लागतमा हुँदैछ ।

गुरुयोजना क्षेत्रभित्र अप्टिकल फाइबर भूमिगतरूपमा बिच्छ्याउने तथा डाटा सेन्टर राख्ने काम पनि तीव्ररूपमा अगाडि बढेको छ । लुम्बिनीलाई सूचना प्रविधिमा पनि अब्बल बनाउन १७५ वटा अत्याधुनिक सीसीटीभी जडान अन्तिम चरणमा पुगेको कोषका सदस्य सचिव भट्टराईले बताए ।
गुरुयोजनाका चारवटा विभिन्न स्थानमा ठूलो डिस्प्ले राख्ने काम अन्तिम चरणमा रहेको छ । लुम्बिनीमा ६० हजार मानिसले वाईफाई चलाउन सक्ने गरी प्रविधि जडानको काम सुरु भएको छ । त्यसका लागि डाटा किन्ने प्रक्रिया अगाडि बढेको कोषले जनाएको छ ।

९० प्रतिशत काम सम्पन्न भएको उक्त आयोजनाको लागत २५ करोड ६४ लाख ३७ हजार छ ।लुम्बिनीमा व्यवस्थित खानेपानीका लागि एक लाख ५० हजार लिटर अट्ने वाटर टावर निर्माणको काम सकिएको छ । २१ करोड ९३ लाख २३ हजारको लागतमा निर्माण सम्पन्न उक्त टावर सञ्चालनमा आएपछि लुम्बिनीमा खानेपानीको कुनै पनि समस्या पर्ने छैन ।

त्यस्तै लुम्बिनीभित्र अन्य साना आयोजनाको काम पनि तीव्ररूपमा अगाडि बढेकाले तीन वर्षभित्रमा गुरुयोजना अनुसारका काम सकिने कोषले दाबी गरेको छ । गुरुयोजनाअन्तर्गत पवित्र उद्यानका चारवटा गोलाई पोखरी निर्माणको काम सकिएको छ । ४२ वटा प्लट निर्माण गरी केहीमा बगैँचा निर्माणको काम सकिएको छ भने केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिस्टमको काम पनि सकिएको छ । गोरखापत्र दैनिकबाट