२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफैँले तोकेको मूल्यमा फ्रिक्वेन्सी



अ+ अ-

काठमाडौँ । ‘बोलकबोलको तेस्रो चरणमा नेपाल टेलिकमले पाँच करोड एक हजार र एनसेलले पाँच करोड ८० लाख रुपियाँ कबोल गरेको छ । यससँगै एनसेलले कबोल गरेको मूल्य सबैभन्दा बढी भएको छ, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले यो घोषणा गरेसँगै दूरसञ्चारका लागि उपयोग हुने फ्रिक्वेन्सीको मूल्य नेपालमा पहिलोपटक बोलकबोलबाट तय भयो । यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले निर्धारण गरेको ब्यान्ड र नीतिभित्र रहेर प्राधिकरणले निश्चित मूल्यमा सेवाप्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउँदै आएको थियो ।

बुधबार दूरसञ्चार इतिहासमा देशमै पहिलोपटक सेवाप्रदायकले आफैँले फ्रिक्वेन्सीको मूल्य तय गरेका हुन् । दूरसञ्चार प्राधिकरणले हाल फोरजी सेवाका लागि उपयोग भइरहेको १८ सय मेगाहर्ज ब्यान्डअन्तर्गत बाँकी रहेको फ्रिक्वेन्सीमा बुधबार बोलकबोल भएको हो । बोलकबोलका लागि यसअघि प्राधिकरणले जारी गरेको सूचनाका आधारमा आवेदन दिएकामध्ये योग्य नेपाल टेलिकम र एनसेल सहभागी भएका थिए । प्रतिमेगाहर्ज फ्रिक्वेन्सी (पेयर्ड)का लागि निर्धारण गरिएको आधार मूल्य तीन करोड ६० लाख रुपियाँबाट बोलकबोल सुरु भएको थियो ।

बोलकबोलका लागि पहिलो चरणमा निर्धारण गरिएको २० मिनेटपछि नेपाल टेलिकमले तीन करोड ७० लाख ८० हजार र एनसेलले तीन करोड ९० लाख ६० हजार रुपियाँ कबोल गरेका थिए । पहिलो चरणमा एनसेलले सबैभन्दा धेरै मूल्य तय गरेको आधारमा दोस्रो चरणमा पाँच प्रतिशत मूल्य बढाएर चार करोड १४ लाख रुपियाँ आधार मूल्य प्राधिकरणले तोकेको थियो । दोस्रो चरणको मूल्यमा तय भएको आधार मूल्यका आधारमा सहभागी कम्पनीलाई दोस्रो चरणको कबोलका लागि आधा घण्टा समय उपलब्ध गराइएको थियो ।

यो चरणमा नेपाल टेलिकमले चार करोड २० लाख र एनसेलले चार करोड ३२ लाख रुपियाँ कबोल गरेका थिए । एनसेलले कबोल गरेको मूल्य दोस्रो चरणमा पनि धेरै भएपछि त्यसैलाई आधार मानेर तेस्रो चरणका लागि प्राधिकरणले चार करोड ५० लाख रुपियाँ आधार मूल्य तय गर्यो । अन्तिम चरणको यो कबोलका लागि टेलिकम र एनसेललाई ४५ मिनेट उपलब्ध गराइएको थियो । सिलबन्दी यो बोलकबोलमा टेलिकमले पाँच करोड एक लाख र एनसेलले पाँच करोड ८० लाख रुपियाँ मूल्य कबोल गरेका थिए ।

नियम अनुसार अन्तिम चरणमा तोकिएको अधिक मूल्यलाई नै उक्त ब्यान्डको प्रतिमेगाहर्ज फ्रिक्वेन्सीको मूल्य तय गरियो । एनसेलले टेलिकमले भन्दा ७९ लाख रुपियाँ बढी मूल्य कबोल गरेर फ्रिक्वेन्सी पाउने आफ्नो बाटो खोलेको हो । बोलकबोल नेपालको दूरसञ्चार क्षेत्रका लागि नितान्त नयाँ भएकाले यसले नयाँ इतिहासको सुरुवात गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको भनाइ छ । यसबाट निकै कम मात्र उपलब्ध हुने फ्रिक्वेन्सीको मूल्य निर्धारणमा नयाँ र प्रचलित बाटो नेपालमा सुरु भएको छ, उनले भने । सेवाप्रदायकबीच प्रतिस्पर्धा गराएर फ्रिक्वेन्सीको मूल्य निर्धारण गर्नु अन्तर्राष्ट्रिय प्रचलन भएकाले भविष्यमा अन्य ब्यान्डको फ्रिक्वेन्सी बिक्री गर्ने नयाँ आधार सिर्जना भएको उनले बताए ।

प्राधिकरणका अनुसार १८ सय ब्यान्डमा रहेको ७५ मेगाहर्ज फ्रिक्वेन्सीमध्ये नेपाल टेलिकमले हाल १५ मेगाहर्ज र एनसेलले ११ मेगाहर्ज उपयोग गरिरहेका छन् । बोलकबोलका लागि जारी गरेको सूचनाका आधारमा एउटा कम्पनीले यो ब्यान्डमा बढीमा २० मेगाहर्ज मात्र फ्रिक्वेन्सी पाउन सक्छन् । त्यसअनुसार एनसेलले अब बाँकी नौ मेगाहर्ज फ्रिक्वेन्सीका लागि आफूले तय गरेको अधिकतम मूल्य बुझाउनुपर्नेछ । बुधबार तय गरिएको मूल्य प्राधिकरण बोर्डले पारित गरेपछि एनसेलको आवेदनका आधारमा फ्रिक्वेन्सी उपलब्ध गराइने खनालले जानकारी दिए ।

हाल यही ब्यान्डमा प्रतिमेगाहर्ज तीन करोड ६० लाख रुपियाँमा सेवाप्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराइएकोमा बोलकबोलपछि यसको मूल्य दुई करोड २० लाख रुपियाँ बढेको छ ।फ्रिक्वेन्सी पाउने बाटो खुला भएपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सेवा विस्तारको अवसर प्राप्त भएको प्रतिक्रिया दिए । खासगरी डेटा बजारमा पुग्न यसले हामीलाई सहयोग पुर्याउनेछ, उनले भने । एनसेलले हाल यही ब्यान्डको प्रयोग गरेर फोरजी सेवा उपलब्ध गराइरहेको छ ।

नेपाल टेलिकमले यो ब्यान्डसहित आठ सय मेगाहर्ज ब्यान्डमा प्राप्त १० मेगाहर्ज फ्रिक्वेन्सीको पनि उपयोग गरेर फोरजी नेटवर्क विस्तार गरिरहेको छ । प्राधिकरणले गत वर्ष पुस ३ गते पहिलोपटक नेपालमा फ्रिक्वेन्सी बोलकबोलका लागि आवेदन माग गरेको थियो । यद्यपि यसका विरुद्ध अदालतमा परेको मुद्दाका कारण प्रक्रिया तीन पटकसम्म रद्ध भएको थियो । एक वर्षपछि मात्रै प्राधिकरणले बोलकबोलको पहिलो काम सम्पन्न गरेको हो । गोरखापत्र दैनिकबाट