काठमाडौं । नेकपा एमालेका उप महासचिव योगेश भट्टराई ले नेकपा एमालेका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूलाई निर्वाचन परिणामबारे सुझाव र राय पेश गर्न आग्रह गरेका छन्।
उनले जारी गरेको सूचनामा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजाले पार्टीलाई अपेक्षित सफलता नदिएको उल्लेख गर्दै त्यसको वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताएका छन्।
भट्टराईले नेकपा एमालेजस्तो बलियो संगठन र व्यापक जनआधार भएको पार्टीले कमजोर परिणाम किन व्यहोर्नुपर्यो भन्ने विषयमा गहिरो विश्लेषण गर्नुपर्ने बताएका छन्। समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र जिम्मेवारी किटान र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्न आवश्यक रहेको छ। यसका लागि उनले विभिन्न विषयमा सुझाव माग गरेका छन्।
भट्टराईले निर्वाचनमा कमजोर नतिजा आउनुका कारण, पार्टीको नीति, नेतृत्व, संगठन, कार्यशैली, एजेण्डा तथा प्रचारलगायत पक्षहरूको आन्तरिक र बाह्य विश्लेषण गर्न आग्रह गरेका छन्। त्यस्तै, पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका प्रस्ताव र त्यसको कार्यान्वयन विधि तथा प्रक्रियाबारे समेत सुझाव दिन आग्रह गरिएको छ।
साथै, एमालेका सबल तथा कमजोर पक्षहरूको मूल्यांकन गर्दै भविष्यको सम्भावनाबारे पनि धारणा राख्न उनले अनुरोध गरेका छन्।
सुझाव तथा प्रतिक्रिया इमेल र ह्वाट्सएपमार्फत पठाउन सकिने उल्लेख गरिएको छ।












