२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार



अ+ अ-

काठमाडौं । संघीय संसद सचिवालयले निर्माणाधीन संसद परिसरभित्र रहेको बहुउद्देश्यीय हललाई प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण तथा बैठक सञ्चालनका लागि तयार पारेको छ ।

सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण गराउने उद्देश्यले हल व्यवस्थापनको अधिकांश भौतिक तयारी सम्पन्न गरेको जनाएको छ । प्रतिनिधि सभाको स्थायी सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्न लागिएको हो ।

संसद सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार हलको अधिकांश भौतिक पूर्वाधार तयार भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा छन् । सिटहरूमा माइक्रोफोन जडान गर्ने काम भइरहेको र बुधबारसम्म पूरा हुने बताइएको छ । दुई सिट बराबर एक माइक्रोफोनको व्यवस्था गरिएको छ ।

शपथ कार्यक्रमअघि अन्तिम तयारी जारी रहने जनाउँदै गिरीले सुरक्षा व्यवस्थापनका कामहरू भने पूरा भइसकेको जानकारी दिनुभयो । बहुउद्देश्यीय हलमा रोष्ट्रम, सभामुख, महासचिव तथा सचिवालयका लागि आवश्यक स्थान व्यवस्थापन गरिसकिएको छ ।

उहाँका अनुसार हाल तयार गरिएको सेटअप आपतकालीन प्रकृतिको हो र यहाँ पूर्णरूपमा व्यवस्थित सेवा उपलब्ध छैनन् । सामान्य इन्टरनेट सुविधा र सीमित क्यान्टिन सेवा मात्र रहनेछ । कार्यव्यवस्था महाशाखा हल नजिकैको सानो कोठाबाट सञ्चालन हुने व्यवस्था गरिएको छ भने कार्य परामर्श व्यवस्थापन समितिको बैठक कक्ष पनि सोही परिसरमा तयार पारिँदैछ ।

हलको करिडोर र प्यासेजमा समेत अतिरिक्त बस्ने व्यवस्था मिलाइँदैछ । यसपटक २४ जना प्रतिनिधि सभा सदस्यले मातृभाषामा शपथ लिने कार्यक्रम तय भएको छ । शपथपछि पहिलो बैठकसम्मको समयमा हललाई थप व्यवस्थित बनाउने योजना सचिवालयको छ ।

स्थायी सभाकक्ष निर्माण सम्पन्न नभएसम्म प्रतिनिधि सभाका बैठकहरू यही बहुउद्देश्यीय हलबाट सञ्चालन हुनेछन् । सचिवालयका अनुसार स्थानको अभावका कारण सभाकक्ष साँघुरो छ भने वेल, रोष्ट्रम, सभामुखको आसन तथा सचिवालय बस्ने स्थान न्यूनतम मापदण्डमा सीमित गरिएको छ ।

संसद भवन निर्माण कार्य भने अझै अनिश्चित अवस्थामा रहेको छ । निर्माण कार्य जारी रहे पनि कहिलेसम्म सम्पन्न हुन्छ भन्ने स्पष्ट समयसीमा छैन । यसैले प्रतिनिधि सभाको पहिलो अधिवेशनसमेत यही अस्थायी हलबाट सञ्चालन हुने देखिएको छ ।

सचिवालयले संसद भवन निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बारम्बार ताकेता गरे पनि अपेक्षित चासो नदेखिएको जनाएको छ । निर्माणाधीन सबै १२ वटा भवन यथाशीघ्र सम्पन्न गरी उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ ।

यसअघि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको आगजनी र तोडफोडपछि उक्त स्थान बैठक सञ्चालनका लागि उपयुक्त नभएको निष्कर्ष निकालिएको थियो । सरकारले चैतको पहिलो साताभित्र सभाकक्ष उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि काम पूरा हुन नसकेपछि सचिवालय बहुउद्देश्यीय हलमै संसद सञ्चालन गर्न बाध्य भएको हो ।

सिंहदरबार परिसरको करिब १५६ रोपनी क्षेत्रफलमा संसद भवन निर्माण भइरहेको छ । २०७६ असोज १६ गते ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ लागतमा ठेक्का दिइएको उक्त परियोजना २०७९ असोज १६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर पटक–पटक म्याद थप्दा पनि २०८२ फागुनसम्म निर्माण कार्य पूरा हुन सकेको छैन ।

संसद भवनको छाना निर्माणका लागि छुट्टै ठेक्का तथा आन्तरिक सजावटका लागि अर्बौं रुपैयाँको सम्झौता भए पनि काम अझै अधुरै रहेको छ ।