२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा तीन वर्षदेखि अधुरो विद्यालय भवन, टिनको कोठामा पढ्न बाध्य विद्यार्थी



अ+ अ-

काठमाडाैँ । पर्वतकाे विहादी गाउँपालिका–४ वहाकीस्थित लिम्सिङको रम्बादेवी माता आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो अवस्थामा रहेको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख रुपैयाँको लागतमा सुरु गरिएको आठ कोठे पक्की भवन थप बजेट अभावका कारण अलपत्र परेको हो। निर्माण कार्य अघि बढाउन आवश्यक स्रोत सुनिश्चित हुन नसक्दा काम स्थगित भएको स्थानीयले बताएका छन्।

भवन समयमै सम्पन्न हुन नसक्दा विद्यालयका विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य भएका छन्। कक्षा चारसम्म अध्यापन हुने उक्त विद्यालयमा हाल १९ जना विद्यार्थी अध्ययनरत छन्।

विद्यालयकी प्रधानाध्यापक शिवानी पुनका अनुसार विद्यार्थीलाई हाल भवनको भुइँतलामा टिनले बारिएको अस्थायी कोठामा राखेर पढाइ सञ्चालन गरिएको छ।

साना बालबालिकालाई टिनको कोठामा राख्दा हावाहुरीका बेला टिन उडेर दुर्घटना हुन सक्ने जोखिम बढेको भन्दै अभिभावक र शिक्षकहरू चिन्तित छन्। सुरक्षित र व्यवस्थित शैक्षिक वातावरणका लागि सम्बन्धित निकायले शीघ्र बजेट व्यवस्थापन गरी निर्माण कार्य पूरा गर्नुपर्ने आवश्यकता देखिएको छ।