२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवा विमानस्थल निर्माणमा चरम लापरबाही भेटियो, चिनियाँ ठेकेदारले ल्यायो नक्कली उपकरण



अ+ अ-

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले विमानस्थलमा प्रयोग हुने सामान नै नक्कली ल्याएको पाइएको छ । चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले विमानस्थलका धावनमार्ग, ट्याक्सी–वे तथा टर्मिनल भवन वरपर प्रयोग गरिने ‘लाइटिङ सिस्टम’का सामान नक्कली ल्याएको भेटिएको हो । कम्पनीले लाइटिङका लागि आवश्यक पर्ने ३७ करोड रुपैयाँ मूल्यबराबरको सामान ल्याएको छ । ‘ती प्रायः सबै नक्कली छन्,’ स्रोतले भन्यो ।

नक्कली सामान जोड्न लागेको तथ्य विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले सूचना पाएर चेक–जाँच गर्दा उक्त तथ्य बाहिर आएको हो । ‘चिनियाँ कम्पनीले सीधै नक्कली सामान जडान गरेर ठग्न खोजेको पाइएको छ,’ प्राधिकरणका एक प्राविधिकले भने । आयोजनाले ती सामान जडान गर्न दिएको छैन । कम्पनीले चिनियाँ दूतावासदेखि उच्च राजनीतिक नेतृत्वसम्म हारगुहार गरेर सोही सामान जडानका लागि लबिङसमेत गरिरहेको छ । ‘कम्पनीले नेपाली राजनीतिक दलका नेतादेखि चिनियाँ उच्च अधिकारीको समेत भनसुन लगाएर सोही सामान जडान गर्न दबाब दिइरहेको छ,’ प्राधिकरण उच्च स्रोतले भन्यो ।

तीन हजार मिटर लामो र ४५ मिटर चौडा रहेको धावनमार्गको चारैतर्फ सयौँ बत्ती जडान गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा समेत सोही कम्पनीले लाइटिङ सिस्टम जोड्नेछ । सबै स्थानमा जोड्न ल्याइएका बत्ती नक्कली पाइएको छ । ‘कम्पनीले चीनबाट सस्तोमा ल्याएको देखिन्छ, जुन थोरै समयका लागि मात्र टिक्छन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लाइटिङ सिस्टम हुँदैन ।’ चिनियाँ कम्पनीले स्थान हेरेर फरक–फरक क्षमताका बत्ती हुनुपर्नेमा अर्कै सामान ल्याएको भेटिएको छ ।

जब सचिवलाई आयो बेनामे उजुरी: चिनियाँ ठेकेदार कम्पनीले विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढाउँदै गर्दा दुई साताअगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसमक्ष बेनामे उजुरी आइपुग्यो । उजुरी आउँदै गर्दा उता भैरहवा क्षेत्रीय विमानस्थलमा भने चिनियाँ कम्पनीले धावनमार्गमा लाइन कोर्ने काम गरिरहेको थियो । लाइन कोर्ने काम सकिनै लाग्दा बिजुलीका बत्ती पनि जोड्ने तर्खर भइरहेको थियो । सचिव अधिकारीले तुरुन्त छानबिन गर्न प्राधिकरण नेतृत्व र आयोजना प्रमुखलाई निर्देशनपछि प्राविधिकले छानबिन गरेका थिए ।

छानबिनका क्रममा सबै बत्ती नक्कली भेटिएको हो । ‘आयोजनाको मिलोमतो हो वा कम्पनीको मनोमानी हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यस विषय खुल्न बाँकी छ, तर कम्पनीले ल्याएका लाइटिङका उपकरण नक्कली हो ।’ मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले चिनियाँ कम्पनीले सामान नक्कली ल्याएर प्रयोग गर्न खोजेको उजुरी परेको स्वीकार गरे । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ठेकेदार कम्पनीले नक्कली सामान प्रयोग गर्न खोजेको र सचिवले पनि चासोका साथ छानबिन गर्न निर्देशन दिएको उनको भनाइ छ । ‘प्रयोग भइनसकेको, तर नक्कली सामान ल्याइएको भन्ने आएपछि चासो दिइएको हो,’ तामाङले भने ।

‘नक्कली ल्याएकै हो, हामीले नयाँ ल्याएर जोड्न भनेका छौँ’: राजन पोखरेल महानिर्देशक नागरिक उड्डयन प्राधिकरणचिनियाँ ठेकेदार कम्पनीले विमानस्थलको धावनमार्ग तथा अन्य क्षेत्रका प्रयोग गर्न ल्याएको लाइटिङका सामान ‘नन–जेन्युन’ देखिएपछि जडान गर्न रोकेका छौँ । प्राधिकरण नेतृत्वले कुनै पनि हालतमा ती सामान प्रयोग गर्न दिँदैन । नयाँ सामान ल्याएर जोड्न भनिसकेका छौँ । कम्पनीले ल्याएको सामान कि फिर्ता लैजान्छ कि यतै डम्पिङ गर्छ ।

पुनः म्याद थपको तयारी, सञ्चालन अनिश्चित: चिनियाँ ठेकेदार कम्पनीका लागि थप तीन महिना समय थप्ने तयारी भएको छ । जनवरीसम्ममा सम्पन्न गर्ने भन्दै गत जुनमा डिसेम्बरसम्मको समय अवधि थपिएको थियो । तर, कम्पनीले आगामी मार्च अन्तिम ९चैत १५ सम्म०को समय माग गरेको छ । ‘अब समय थप्नुको विकल्प छैन, चिनियाँ कम्पनी

ले मार्चसम्मको समय माग गरेको छ,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । अन्य इक्विपमेन्टको समेत काम भएकाले वैशाखयता विमानस्थल सञ्चालन नहुने उनले बताए ।चिनियाँ कम्पनीले सन् २०१४ मा निर्माणको ठेक्का पाएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । २०१८ सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानस्थल निर्माण सुरु भए पनि अहिलेसम्म काम जारी छ ।

गत वर्ष ४ असारमै आन्तरिक उडान सुरु गर्ने घोषणा नीति तथा कार्यक्रममै गरिएको थियो । तर, अझै चालू आर्थिक वर्षभित्र सञ्चालनमा आउने सम्भावन न्यून रहेको प्राधिकरणकै अधिकारीहरू बताउँछन् । आयोजना निर्माणका लागि आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । तर, लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ । नयाँ पत्रिका दैनिकबाट