काठमाडौं । काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवस तथा महानगर महोत्सव २०७६ विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा काठमाडौं महानगरपालिकाले सडक मानवमुक्त सहर अभियान घोषणा गरेको छ । काठमाडौंलाई सडक मानवमुक्त बनाउनका लागि भन्दै तीन महिने अभियान घोषणा गरिएको हो । महानगरको २५औं वार्षिकोत्सवका अवसरमा आइतबार वसन्तपुरमा आयोजित समारोहमा महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले सो अभियानको घोषणा गरेका हुन् । यो अभियान तीन महिनासम्म चल्नेछ ।
बेसहराहरूलाई आश्रय दिँदै आएको मानवसेवा आश्रमको सहयोगमा अभियान सुरु गरिएको हो । तीन महिनासम्म अभियान चलाइने र त्यसपछि महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गरिने महानगरपालिका प्रमुख शाक्यले बताए । दुई दिनसम्म मनाइएको सो दिवसको समापन अवसरमा आइतबार वसन्तपुरमा आयोजना गरिएको भव्य समारोहकाबीच विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरियो । समारोहमा ज्यापु समुदायका परम्परागत ६३ गुथी, खड्गी समुदायका ६० गुथी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरूलाई नगदसहित सम्मान गरियो ।

त्यस्तै, मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारीलगायत इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसी, दिप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गरियो । समारोहमा गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रूपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरियो । समारोहमा महानगरमा २५ वर्ष नियमित सेवा गर्ने १७ कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गर्नुका साथै मखं त्वाकी श्री ३ कुमारी प्रकृति महर्जन र किलाघः त्वाः की कुमारी रेसुका महर्जनलाई मासिक १५ हजार रुपैयाँ भत्ताको घोषणासमेत गरियो ।
यसैगरी, महानगर दिवसका अवसरमा आधारभूत तह (कक्षा एकदेखि आठसम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह ( कक्षा नौ र १०) स्तरीय ‘सांस्कृतिक सहर, काठमाडौं नगर’ विषयमा आयोजना गरिएको कविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पनि महानगरले पुरस्कृत गरेको छ । समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संघीयताको जग स्थानीय तह भएको भन्दै संघीयता बलियो बनाउन महानगर उदाहरणीय बन्नुपर्ने बताए ।
उनले संघीयता राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी भएको भन्दै सबै मिलेर संघीयताको मूल मर्मलाई बचाउन लाग्नुपर्नेमा जोड दिए । संघीय सांसद जीवनराम श्रेष्ठले महानगरको विकास र समृद्धिका लागि राम्रा कामको प्रशंसा र सुधार गर्नुपर्ने कामका लागि रचनात्मक सुझाव दिनुपर्ने बताए । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरवासीका चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।
यसका लागि जस्तोसुकै चुनौतीको सामना गर्न आफू तयार रहेको उनले बताए । प्रमुख शाक्यले काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त बनाउन थालिएको अभियान र बौद्धमा सञ्चालनमा ल्याइएको दमकल भवनलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए । ‘महानगरभित्रका परम्परागत वाद्य तथा नाच गुरुहरूलाई सम्मान गरेका छौं । राजधानी दैनिकबाट












